जो रातदिन
हिँडेको छ
उनकै पछि पछि
लखरलखर

थकाइ तनमा छैन्
भोक तिर्खा भन्नु छैन
मानौँ मन मै छैन
कयौं जोर जुताका तलुवा फाटिसके
हजारौं बाटा काटिइसके
तर उसलाई
आफ्नो
गन्तव्य के हो थाहा छैन
जहाँ उनी रोकिन्छन्
ऊ रोकिन्छ
जहाँ उनी लम्कन्छ्न्
ऊ नि लम्कन्छ
उनी तन्के
ऊ तन्कन्छ
फन्के फन्कन्छ
बसे बस्छ
उठे उठ्छ
कुदे कुद्छ
हिँडे हिँड्छ निरन्तर
तर
उसको ‘यान’ रोकिदैन्
‘अभियान’ रोकिदैन्
आफूलाई बिर्सन परोस् केही छैन
तर
उनलाई बिर्सन चाहँदैन
उनी छोडेर कतै जान चाहँदैन
उनको नजरमा गिर्न चाहँदैन
उनी बिना हिँड्न चाहँदैन
उनलाई पिर्न चाहँदैन

उसले
उनी मात्र एउटा छ्न् मानेर
मानौँ देवता नै हुन् उनी ठानेर
जीवनदाता
कर्मदाता
भाग्य विधाता मानेर
पछ्याएको छ उनलाई हरदम

उनको
सत्य असत्य मतलब छैन
बस्
सधैँ यशोगान गर्छ
भजन गान गर्छ
स्तुति
प्रस्तुतिले रिझाउन खोज्छ

उनका विरोधीलाई
आफ्नै विरोधी ठान्छ
देखी सहँदैन तिनीहरूलाई
आँखा तर्छ
भन्ने नभन्ने भन्छ
झाँको झार्छ
मानौँ उनको पीडा उनलाई भन्दा उसलाई दुख्छ
आँसु बढी उसले झार्छ
झारेझैँ पार्छ
उनी खुशी हुँदा ऊ हाँस्छ
गाउँछ
नाच्छ
कम्मर भाँच्छ
सधैँ उनीसँगै
कहिले नछुटाइने झोलासँगै
कहिले नबिसाइने झोलासँगै ।