आफूसँग आफैँ भागिरहेको
आफूले आफैँलाई ढाँटिरहेको

रहेको साहस बटुलेर
आज आफूले आफैँलाई
एउटा प्रश्न गरिरहेछु
म कस्तो जीवन बाँचिरहेछु ??

ठूलो आकाशको खोजीमा
साँघुरो पिँजडाको कैदी भएको छु
अभिमन्यु जस्तै
चक्रव्यूहको दलदलमा फसेको छु
म स्वतन्त्र जीवन बाँचिरहेछु

टुसा बनेर पलाउन खोजेको
झन् झन् माटोमा भास्सिएको छु
सिद्घयाउनु हिँडेको
आफैँ समाप्त भएर
खोक्रो भएको छु
म प्रचुरताको जीवन बाँचिरहेछु

सपनाको मलामी जाँदा जाँदा
सुनपानीले निथ्रुक्क भिजेको छु
गुन्द्री बत्रे सपना बुनेको
परालको मुठ्ठो म
थारो भैंसीको आहार भएको छु
म सार्थक जीवन बाँचिरहेछु ।