
आजकै दिनदेखि यस्तो प्रेम शुरु हुन सक्छ
यो प्रेमलाई साँचो प्रेम भन्ने भ्रम शुरु हुन सक्छ
मुक्तिदायक प्रेम कतै हुन त सक्छ
तर यो कज्याउने प्रेमको शुरुवात हुन सक्छ
ऊ तिम्रो नहुन सक्छ तर तिमी उसको हुनुपर्ने शर्त हुन्छ
प्रेममा हुने ठूला-ठूला ऐजन ऐजन वाचाहरू सुन्नेछौ
तिम्रो पछ्यौरीमा ताराहरू जडिने प्रतिज्ञा
चन्द्रमालाई एक चुट्कीमा तिम्रो पाइलामा झार्ने आश्वासन
तिम्रो कपालको बादलभित्र उसको लुकेर बस्ने चाहना
उसको हत्केलामा तिम्रो पैतालामा राख्ने बहाना
अन्त्यमा तिम्रो सम्राटले भित्री इच्छा तिम्रो सामु राख्ने छ
केवल तिम्रो फेसबुकको पासवर्ड चाहिन्छ उसलाई
त्यति भए ऊ या त गद्दी त्याग्नेछ
या त तिम्रो पाउमा राज्य चढाउने छ
यसरी ऊ सच्चा प्रेम गर्ने छ !
याद राख उसलाई तिम्रो पहिलो प्रेम रातो हुनुपर्नेछ
तिम्रोलागि त्यसपछिका प्रेमहरू रंगहीन हुन सक्नेछन्
त्यसपछि तिम्रो मायाको प्रोक्सी खडा हुनेछ
फलामझैं गरुङ्गो तर अमूर्त यौटा अस्मिता भन्ने वस्त्र
तिमीलाई लगाइदिने छ
उसलाई चाहिएको बेला मात्रै उसैले मात्रै
फुकाल्न मिल्ने छ यो वस्त्र
उसको माया उसलाई चाहिएको बेला चढ्नेछ
तिमीलाई चाहिएको बेला ओर्लनेछ
तिम्रो मायामा ऊ सित्कार हैन चित्कार खोज्नेछ
सिन्दूरले तिमीलाई उसको छाप हानेको याद दिलाउने छ
सारी र फरियाले तिम्रो पाइला छोटो बनाउनेछ
पाउजू बज्नेछ छन् छन्
पोतेको दाम्लो छिनाएर तिमी भागेर जान खोज्दा
हुन त बन्धनहरू सुनका हुनेछन्, हीराको हुनेछन्
मोतिका हुनेछन्
वा केवल सुनको जलप लगाएको पित्तलका हुनेछन्
गच्छे अनुसारको हत्कडी र नेल्कडीहरू तिमीलाई मिल्नेछ
उसको अन्तिम अस्त्र भगवान् हुनेछ
त्यो तिम्रो अन्तिम पिंजडा हुनेछ
स्वतन्त्रताको पखेटा आउने ठाउँमा चिलाएको हो भने
यो प्रेमको बन्धनबाट मुक्त हुने लक्षण छ
तर अपशोच यो मुक्ति तिमीले आफैँले कमाउनु पर्ने छ
पिंजडाभन्दा बाहिर छु म
म पनि प्रेम हुँ
तर अर्को गोलार्द्धको
-०-
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

