म तिम्रा आँशु पुछ्ने हरियो मजेत्रो फेर्न
हरियै पासपोर्ट बोक्दैछु
आमा
तिमी किन रुन्छ्यौ ?

तिमी “मलाई तँ भए पुग्छ” भन्छ्यौ
म तिम्रो थाप्लोमा साहुको नाम्लो नभए पुग्छ भन्छु
म तिम्रै शिरलाई शितलता दिने हावा खोज्न हिँड्दैछु
आमा
तिमी किन रुन्छौ ?

आमा, तिमी त जतिबेला पनि रोएकै हुन्छौ
माथ्लाघरे साहु झर्कंदा रुन्छौ
पल्लाघरे छिमेकी तर्कंदा रुन्छौ
अनि त्यो पा..रिको झाँक्री बाजेले
तिम्रै नाम लिँदै थर्कंदा पनि रुन्छौ
आज म तिमीलाई नै ढाक्ने प्वाँख बटुल्न उड्दैछु
आमा
तिमी किन रुन्छ्यौ ?

आमा, तिमी त गुमाउन पल्केकी मान्छे
आफू हुर्केको माइती गुमायौ
सँगै दौडेका सङ्गाती गुमायौ
विपनामै रङ्गिएको सिउँदो अनि रातो रङ गुमायौ
मनमा हुर्काएका कयौं सपना अनि उमङ्ग गुमायौ
मत केही वर्षका लागि मात्रै त तिम्रो साथ गुमाउँदै छु
आमा
तिमी किन रुन्छौ ?

भगवानले बाको शरीर खोसे
समाजले तिम्रो अस्तित्व खोस्यो
र पनि तिम्रो न्यानो काख कहिलै खोस्सिएन
तिम्रो पटुकीको थैलि रित्तियो
र पनि तिम्रो ममताको शैली रित्तिएन
आज त्यै रित्तिएको थैली भर्न
रित्तो जहाजमा भरिँदैछु
आमा
तिमी किन रुन्छौ ?