आमाभित्र कैद
शिशुको जमानत गर्नका निम्ति
बग्छन् शब्दविहीन लालपुर्जाहरू
शिरा हुँदै, धमनी हुँदै
र चुहिन्छन् तप्प-तप्प पैतालामा;
जसलाई हामी रजस्वला भन्छौँ

त्यही शिशु आमाको कारागारबाट
कैद भएपछि
बाका छालाहरूमा
खुल्छन् जिम्मेवारीका ढोकाहरू
र तिनै ढोकाहरूबाट
परिश्रमका पिस्टनहरूले
देश निकाला गर्छन्
लगन र भावनाले
लतपतिएका मोतीहरू
खल-खल बग्छन् निधारबाट
दौडिन्छन् आँखा चिम्लिएर
कुना कन्दरा हुँदै
पैतालाहरूलाई चुम्न —
जसलाई म श्वेतस्वला भन्छु ।

हो, खाडीको घाममा तातिँदा
प्रत्येक दिन
बग्छ पुरुषको श्वेतस्वला

दिनभरिको काम, थकान
र साँझ — घरको एकोहोरो यादले
उखुमै दुख्छ तिनको पनि
मनपेट,
तिनलाई पनि हुन्छ प्रशवपीडा;
आँखाबाट आँसुका असङ्ख्य
हिमनदीहरू जन्माउँदा —

पराइको देशमा बाँचेर
छोरा-छोरी
आमा-बुवा
र श्रीमतीका सपनाहरू
सिलाउँदा-सिलाउँदै
बा’लाई आफू फाटेको पत्तै हुँदैन

असुरक्षित तिनीहरू पनि हुन्छन्
पराइको छाउगोठमा बस्न
कहाँ सजिलो छ मेरी आमा

अब भत्काउनुपर्छ
यस्ता असुरक्षित छाउगोठहरू
छाउगोठतिर डोर्‍याउने अदृश्य बाटाहरू ।

निर्दोष एनपी
धनगढी १३, राजपुर, कैलाली