अमरपिरती
छन्द-शिखरमाला (शक्वरीभेद)
य न स भ ल गु
iss iii iis sii i s
विश्राम-३ र ९ अक्षरमा
विदुर अधिकारी
जगाऔँ, अमर पिरती ,यो भुवनमा
सजाऔँ,अधिक करुणा सत् हृदयमा
विवेकी ,अतिशय बनी, प्रेमपथमा
भरौँ है,सुमधुर कला ,यो प्रणयमा।
. (१)
बुझेनौँ सरस परिभाषा प्रणयको
चिनेनौँ मधुर अभिलाषा अधरको
बनेछौँ,अधम गणझैँ तिक्त जगमा
भजौँ है अमर पिरती यो बखतमा।
. (२)
सराबी मनुज जहिल्यै,रोज्दछ तन
खराबी यदि मन भए खोज्दछ धन
भएनौँ प्रणयपथको सार्थक कसी
बनौँ है अमरपिरतीको प्रिय रसी।
. (३)
बनाए प्रणय भरिलो रम्दछ मन
सुनाए कमसल कुरा गुम्दछ गुण
नियाल्दै मधुर ममता सत्यपनको
चुमौँ है अमरपिरती सत् वचनको।
. (४)
हुँदामा मनुज अहिले दुष्टपनका
भएछन् प्रणय कतिका ती सब धुजा
नियाल्दै अमृतसरिको त्यो अधरमा
पुकार्दै प्रियजन बसौँ यो नगरमा।
. (५)
रामपुर,चितवन
अमर पिरती
शिखरमाला
कलानिधि दाहाल
उठाऊँ अलिअलि उता ओठ करले
सँगालूँ पर पर लगी गोठ करले!
उनी छिन् बगल वनझैँ बाग रसिली
म मेरो प्रणयपुर मिल्दा सहसिली!!
बसेका बगल नजिकै आउन सके
मजा छन् प्रणय पिरती पाउन सके!
छ यो सृष्टि सहज यता सौम्य रसको
भएमा नजर गतिलो खासखुसको!!
छ जोडी परविपर यो मेल मधुर
चलेको चलन मनको यो सुमधुर!
मिलेका पुरुष र यता स्त्रीसँग सधैँ
खुलेको अवनितलको सृष्टि छ सधैँ!!
टुटेमा अमर पिरती टुट्छ अवनि
न हुन्छन् जग मनुजका मोह महनी!
सुकेका पतकर सरी हुन्छ जग नै
विना यो अमर पिरती हुन्न सँग क्यै!!
फुटेको धुलिक कणझैँ उड्दछ धरा
र मान्छे अनवरत हुने हुन्छ बिचरा!
परेली पलपल कता झिम्कनु हरे
लताका मन मधुर कता जन्मनु भरे!!
छ छाँगो छलछल मनोद्वेग नहुने
चरीको चिँचिँ चिरबिरी मग्न नहुने!
निरासा निरस वदना ब्यूँझन गई
सुकेको नद मलिनझैँ जीवन भई!!
सजाऊँ सगबग हुने प्यार रसिला
भँजाऊ प्रणय पलका आँङ कसिला!
मजाले हरपल सँगै जोडदिलमा
नहोस् यो अमर पिरती थाङथिलमा!!
अमर पिरती
छत्रपति दाहाल
शिखरमाला
कहाँ छ्यौ अमरपिरतीकी प्रणयिनी
सुधा झैँ सरस कविताकी हृदयिणी
म पर्खी थकित हुनसम्मन् भइसकें
नआए हृदयसित पापी भइसकें
।।१।।
उदाई शशिकिरण छाए नजरमा
र त्यस्तै रविकिरण लागे अधरमा
दिलाशा टहटह उठे हृत्पटलमा
उदाऊ अमृतदुहिता यो विकलमा
।।२।।
अँगालो वरिपरि कसी पुष्ट तनमा
बसौंला स्वपनसित सन्तुष्ट मनमा
सबैको सुख सँगसँगै तृप्ति प्रणय
तिमी ह्वौ छुनुमुनु हुने मुक्त हृदय
।।३।।
अघाई अमरपुर प्रस्थान म गरूँ
बगाई हृदयरस हाँसेर म मरूँ
उठाऊ अनवरत संसार सजियोस्
जुटाऊ अमर पिरती भाव भजियोस्
अमरपिरती
छन्द-शिखरमाला(शक्वरीभेद)
तारा घिमिरे
१
लगाऔं अमर पिरती आज जगमा
मिसाऔं नयन अब माया छ भवमा
तिमीमा रहर छ छिटो जान घरमा
अनौठो छ कहर सधैं त्यो सहरमा
२
पिलाएँ अमर अब प्याला छ सहजै
खराबी नबन सबमा प्रेम छर है
दिलाएर मधुरम यो प्राण भर है
सजाएर तन मनमा खास नजिकै
३
सताएर नबस न चोखो छ पिरती
बनाऔं मनुज सब राम्रो छ धरती
फकाएर बसन तिमी साथ हुनुमा
अनौठो खलबल छ आकाश छुनुमा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।