शिशिरयामको चिसोलाई चिर्दै
रुखो धुलोलाई उछिन्दै
खङ्ग्रङ्ग सुकेको मौसममा
पानीको बुँद नझरेको
पट्यारलाग्दो
धुस्रो समयमा
तिमी फुल्छौ

उराठलाग्दो प्रकृतिलाई
फूलैफूलको घुम्टो ओढाउँदै
शुभ्र नभको सिउँदो रङाउँदै
निस्तेज नीलिमाको अधरमा
एकमुष्ट खुसीको हाँसो छर्दै
तिमी आएका थियौ

हिजो त होला मलाई
झरेका पातले तिम्रो आगमनको खबर दिएको
हावाले आत्तिदै तिम्रो स्वागत गरेको

तिमी आयौ
प्राणको सञ्चार गर्‍यौ
मरिसकेको मनलाई प्रेरणा दिँदै
सुटुक्क फेरि फर्कि हाल्यौ
आज हावामा उडिरहेको
रुईले तिम्रो बिदाको विलाप गर्दा
झसङ्ग झस्कन्छु म

आफ्नै दिनचर्याको गीत गाउनमा मख्ख
आधुनिक युगको व्यस्त मानिस
प्रकृतिलाई क्यानभासमा खोज्ने प्रयास
गर्दागर्दै
फागुन
फुत्त फुत्किएछ
हेर!
चालै नपाई
थाहै नभई
रक्तिम फागुन
उम्किसकेछ ।

विश्वनाथ, असम