रवीन्द्र मिश्र

मेरा प्रेमका रङहरू
कोही मुलायम गुलाबी छन्
ती गुलाफका पत्रजस्तै
सुन्दर-शालीन भएर फुल्दछन्
अनि झर्दछन्

कोही गाढा रातो छन्
ती सुन्दर ओठका आभाजस्तै
धपक्क बल्दछन्
बिस्तारै, बिस्तारै रङ फेर्दै
रङहरूकै चित्र कोर्दछन्
र आफ्नै गोरेटोमा हिँड्दछन्

मेरा प्रेमका रङहरू
कोही शीतल नीलो लेपका छन्
ती समुद्रका किनार र
आकाशका सुस्केरामैं बिलाउँछन्
कता हराउँछन्, कता हराउँछन्
स्मृतिमा रेखा कोर्दै
विस्मृतिमा विलीन हुन्छन्

कोही मन्द-मन्द पहेँला छन्
सबेरैको सूर्यजस्तै
भावना र आशा जगाउँछन्
दिन ढल्दै जाँदा
डाँडापारि अस्ताउँछन्
र भोलिपल्ट बिहानै उदाउँछन्

मेरा प्रेमका रङहरू
कोही शान्त हरियो वर्णका छन्
जङ्गलमा सुस्ताएका आँखाजस्तै
न्यानो-न्यानो भएर सलबलाउँछन्
कोही कतिऽऽऽ काला छन्
अंध्यारोमैं रमेर जम्न खोज्छन्
र पनि मिठास छोडेर भाग्दछन्

मेरा प्रेमका रङहरू
होलीका रङजस्तै
जीवनभर आउँछन्-जान्छन्
आउँछन्-जान्छन्
र पनि ती सदा मोहक लाग्दछन्
मेरा प्रेमका रङहरू…!