
हरियो बाँसमा बाँसैका टुक्रा जोडेर
अनि डोरीले कस्नुसम्म कसेर
मलाई सेतो कपडामा सुताको त्यो दिन पनि
म तिमीलाई सम्झिन्छु
एकोहोरो शंख फुक्दै जाँदा
सिक्काहरू बाटोमा छर्दै जादा
राम राम भन्ने ध्वनि गुन्जिरहँदा पनि
म तिमीलाई सम्झिन्छु
कोहीका आँखामा आँशु त
कोही ठट्याइलो गरिरहँदा
कहिल्यै नचिनेका रमिते पनि दुःखी हुँदा पनि
म तिमीलाई सम्झिन्छु
माया गर्नेहरू मायाका खाली खुट्टा
अनि कोही सवारीमा गडगडाउँदा
निन्याउरो अनुहार लगाएका मलाई नचिन्नेहरू हुँदा पनि
म तिमीलाई सम्झिन्छु
धेरै पालो फेरेर म घाट पुग्दा
मलाई यहाँसम्म कष्टसँगै ल्याइपुर्याउँदा
आफ्नाका दुःखलाई माफी नमाग्दा पनि
म तिमीलाई सम्झिन्छु
मलाई लामो लस्करले ल्याएकाले होला
म पनि आज मलामी सँगै छु
पानी बिस्कुट मात्र खान दिँदा पनि
म तिमीलाई सम्झिन्छु
अब ठीक पार तिम्रा दाउरा चिनी घ्युहरू
म त्यति सजिलै कहाँ जल्न सक्छु र
घोची घोची निर्जिव पीडा दिँदा पनि
म तिमीलाई सम्झिन्छु
अब घाटमा लागेको खर्च सबै
घाटा नै जसरी तिरेर सबै
घर फर्केर मलाई एकपल्ट घोत्लिरहँदा पनि
म तिमीलाई सम्झिन्छु
यसरी नै तेह्र अनि महिना सकिए पनि
पैँतालीस हुँदै छ महिना भए पनि
वर्ष र दिन बित्दै मलाई भुल्दै जाँदा पनि
म तिमीलाई सम्झिन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

