९.
प्रेयसको लागि लेखिएको गीत
ईश्वरसम्म पुग्छ
प्रेयसीसम्म पुग्दैन

जसरी-
रुखको लागि लेखिएको कविता
कागजसम्म पुग्छ
रुखसम्म पुग्दैन

शोषितहरूको लागि लेखिएको कविता
गोष्ठीहरूसम्म पुग्छ
शोषितहरूसम्म पुग्दैन

उसरी नै –
ईश्वरका लागि लेखिएको कविता
विपदासम्म पुग्छ
ईश्वरसम्म पुग्दैन ।

११.
मान्छे। मान्छे। मान्छे।
मान्छैमान्छेहरूको दुनियाँमा
विशेष हुनलाई तिमी धनवान् नहुँदा पनि चल्छ
तिमी ब्युटीफुल नहुँदा पनि चल्छ
तिमी गोरी नहुँदा पनि चल्छ
तिमी अपढ हुँदा पनि चल्छ
तिमी अजातकी हुँदा पनि चल्छ

मलाई तिम्रो एक मुस्कान भए पुग्छ
मलाई कमल जस्तै स्निग्ध एउटा हृदय भए पुग्छ
मलाई एक जोर कपटविहीन आँखा भए पुग्छ

तिमी त्यस्तै छौ र प्रेमपूर्ण भएको छ ।

यसैले खुशी जस्तो उज्यालिएको तिम्रो अनुहार हेर्दा
जूनको जुनेली पनि धमिलो लाग्छ ।

१२ .
प्रेम एकनिष्ठ हुन्छ
पीडाहरु बहुवचन !

जसरी स्पर्शलाई बयान गर्न सकिन्न
तर एउटा स्पर्शले सिङ्गो परिभाषा बदल्न सक्छ

प्रेमको भाषा हुन्न
प्रेम प्रकट गर्नलाई शब्द चाहिन्न
प्रेम यसरी हुन्छ
जस्तो कुनै हरफलाई उल्टा पढनु

वेदनाका रेखाहरू ओठहरूमा उम्रिएर हत्केलामा
हरियो भई दिन्छ
एकचोटि चुम्ने रहर ओठबाट पग्लेर
हृदयभित्र बगिरहन्छ

निद्रा आँखामा सुत्छ
र हृदय सपनाहरुको पहरेदारी गर्छ

बातहरू
कुनै कविता जस्तै हुन्छ
आवाजको हुनर अर्थले बुझिदिन्छ ऊबेला
मौनको व्यथा शब्दले बुझिदिन्छ ऊबेला

प्रेम उसैगरि मर्छ अन्तमा
जसरी प्रश्न उत्तरको आशमा दिनहुँ
मर्ने गर्छ ।

****

सिलगडी, भारत