मनाऊ तिमी केक काटी
जीवनका उर्वर समयहरू
समयको उर्वरतासँगै
मौलाएका चाहनाहरू
चिहानमा पुग्दासमेत
पूरा हुँदैनन्
त्यसैले त
तिमी मेरो मृत्युमा समेत
उत्सव मनाऊ
जहाँ मेरो मृत्योत्सवसँगै
तिम्रा विचारहरू पनि मर्नेछन्

तिम्रा विचारहरू
मरेर आज मानव स्नायुबाट नै
गायब हुनु पर्दछ
जसरी मान्छेसँगै
भौतिक शरीर सकिन्छ
त्यसरी नै तिम्रा मरेका विचारहरू
पनि यस धर्तिबाट
सकिनुपर्छ
रहोस् त समानताको विचार
तर
तिम्रा विचारहरूमा न त
समानता छ न त इमान्दारिता
यहाँ त
तिम्रा विचारहरू
दरिद्रताले भरिएको छ
त्यसैले तिम्रा विचारको
मृत्योत्सव मनाउनु छ यहाँ

जनतालाई
लुटेर तिमी महलमा बस्न
रूचाउँछौ
सुविधायुक्त ठाउँको खोजीमा
भौँतारिने
तिम्रा कल्पनाशील विचारलाई
किन जीवित राख्ने ?
जसले मानव सभ्यताको
उपहास दिइएको छ
मानव स्नायु प्रणालीमा नै
नकारात्मक असर
पर्नेगरी तिम्रा विचारहरू
बुलन्द भइरहेको छ
ती विचारहरूलाई मर्न दिनुपर्छ
जुन विचारले
मानव स्नायुको रक्षा
गर्न सक्तैन

धर्तिको सर्वश्रेष्ठ प्राणी
मानव जाति हो
तर
तिम्रो व्यवहार बिरालोको भन्दा
पनि तुच्छ देखिएको छ
मानव जातिको स्नायुलाई
विद्वानहरूले धर्तिको
जीवित प्राणीमध्ये
चलाख र सोचनीय दिमागको रूपमा
प्रष्ट्याएका छन् ।
जुन दिमाग कल्पनाले भरिएको छ
जुन दिमागले सोचिरहेको छ
स्वतन्त्रता, समानता, समृद्ध
र आधुनिक समाजको
त्यसैले असमानताको बीऊ
रोप्ने तिम्रा विचारहरूको
मृत्योत्सव मनाउनु छ यहाँ ।

साल्पासिलिछो, भोजपुर