
मोनालिसाजस्तै अनुहार कुँदेर
हरियो रङले
पोख्याइदिन्छु आज
तिम्रो रात परिरहने अनुहारभरि
जसले
जूनका शीतला पखेटाहरूमाथि
बेफिक्री तातो चूक घोप्ट्याउने
तिम्रो मथिङ्गलमा
फुलाउन सकोस् उन्मुक्त घामको गीत
फूल फूल नै हो
नदी नदी नै हो
भन्न सक्नुपर्छ तिमीभित्रको मान्छे
भँगेरीले खोज्ने गरेका न्याना खोपीहरूमा
जुनकीरीले टिल्पिलाएका मधुर बत्तीहरूमा
हुनसक्छन् नव उडानका सूत्रधार
देख्न सक्नुपर्छ तिम्रा आँखाहरूले
भँगेराहरूको वैज्ञानिक ईश्वर
तिमीले हिँड्ने गरेका बाटोका तिलमिले बत्तीहरू
भुइँफूलका आभाहरूले सिर्जेका किरणहरू
पनि त हुनसक्छन्
तिमीले हिँड्ने गरेका बाटाहरू
इतिहासले कुँदेका सिँढीहरू पनि त हुनसक्छन्
देख्नसक्नुपर्छ तिम्रा पैतालाले ढुङ्गाको लामो उमेर
तिमीले सिउरिने गरेका फूलका पत्रहरू
किन फुल्छन् लामबद्ध भएर काँडाहरूबीच
पहाडहरू किन त्यति सारो सहनशील हुन्छन्
हिमालको उचाइ थाम्नुमा
किन छुँदैन उसलाई हिउँको सिरेटोले ?
हेर्न सक्नुपर्छ तिमीले पहाडका गहिरा पैतालाहरू
तिमी सधैँ धुवाँमै उडेर
पोत्नु हुँदैन कालो
आकाशको अनुहारमा
तिमी हाँगामै बसेर सधैं
टेक्नु हुँदैन
रूखले सास फेर्ने गलामा
छाम्न सक्नुपर्छ तिमीले हावाको पारदर्शी अनुहार
तिमी प्राणी हुनुको नाता
हुन सक्नुपर्छ सजीव
जत्तिको हिमाल
तिमी मान्छे हुनुको नाता
हुन सक्नुपर्छ अजीव
जत्तिको गुलाब
लेख्न सक्नुपर्छ तिमीले
शीतमा लुकेको आकाशको प्रीत
तिमीलाई त्यही उचाइ काफी छैन
जसरी उभिइरहेछौ च्याउझैं
त्यो दृष्टि माथि छैन
जो तिमी हेरिरहेछौ चीलले लाशझैं
तिमीले बन्नुपर्छ
सम्बन्धमाथि मान्छे
तिमीले ठम्याउन सक्नुपर्छ क्षितिजमा इन्द्रेणीको रङ
तिमी हिँडेर पुग्दैन यतीका पाइलामा उल्टो बाटो
टेक्न दिनुपर्छ नानीहरूलाई भोलिको फूलबारी
लुक्न दिनुपर्छ चराहरूलाई
रूखका हरिया समयभित्र
ओ उचाइ खोज्ने मान्छे
टाँस्नु हुँदैन निधारमा आफ्नै अनुहार हराएको सूचना
राम्रो लाग्नुपर्छ मान्छे हुनुको आस्था
हाम्रो लाग्नुपर्छ सृष्टिमाथिको शकुन
होइन भने
सूर्यले गर्नेछ अब उज्यालो सकिएको घोषणा
धर्तीले गर्नेछ अब माटो सकिएको घोषणा
योभन्दा अगावै
चराहरूले खोज्नेछन् आकाशको अस्तित्व
र जारी गर्नेछन् करारनामा
धर्तीको गला घोटेको आरोपमा
अनि
टाँसिदिनेछन्
मान्छेको ‘सुसाइड नोट’ तिम्रै निधारमा !
भर्जिनिया, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

