
म यो सृष्टिको आधा हिस्सा, यो आकाशको आधा अंश, भन त कमजोर कसरी बन्न सक्छु ?
म तिम्री जीवनदाता आमा, म तिम्री ममतामयी दिदी, यति लाचार कसरी बन्न सक्छु ?
चुलो चौकोमा बन्दी म थाहा पाउदिन होला र ? यी देशद्रोहीका तानाबाना
गोठ र करेसा बारीमा सिमीत म बुझ्न सक्दिन होला र विकासका झूठा योजना
मलाई आज ती रोसा क्लारा जस्तै मुक्तिको सन्देश बोकी जुर्मुराउने मन छ
विगतका तीता पल, निःशासिंदा रातहरु बिर्सिएर उन्मुक्तिको सास फेर्दै मुस्कुराउने मन छ
मलाई थाहा छ पासाङले हिमाल चढेको कथा, मलाई थाहा छ कमला कुँवरले नालापानीको किल्ला तोडेको इतिहास
मैले सुनेको हो बेनेजीर भुटोको देशप्रतिको प्रेम, अझ मनमा गढेको छ मलालाको बालिका शिक्षाको अभियान
भन त कसरी कमजोर छन् महिला ? भारतपुत्री इन्दिराले शासन हाकेकै हुन्
बेलायत त के! विश्व हल्लाउँदै मार्गरेटले विकासको लहर ल्याएकै हुन्
साक्षी छ यो इतिहास अनि त्यो चाँगुनारायण राज्यवतीको नायबीको
योगदान भुल्दैन यो माटोले त्यो नाम वीरङ्गना राजेन्द्र लक्ष्मीको
संस्कारका नाममा लगाइएको बन्देज, पापको नाममा लगाइएको पर्खाल चेतनाको बलले भत्काउने मनछ
चम्पा, जूनकिरी, पम्फा, बाटुली बटुली सुनाउँदै ती योगमायाँको जीवनगाथा पलपल विजयको उल्लास मनाउँदै मुस्कुराउने मन छ
छायामा राखी महिलाहरुलाई महिलामाथि नै दमन गरिरहने यो पितृसत्ता भत्काउने साहस गरिएन किन ?
हरपल आँसु बगाइरहे, चुपचाप पीडा सहिरहे हजारौँ महिला मिली स्वतन्त्रताको आवाज उठाइएन किन ?
एक छाक रोटीका लागि सहेरै कति बस्ने पतिपरमेश्वरका लाठी मुङ्ग्री र लाती
सारा सन्तानको सुखका निम्ति कहिलेसम्म अर्पण गर्ने आफ्ना खुशीहरूको आहुति
भो म अब सीता बन्दिनँ न बन्न सक्छु सत्य सावित्री, राधा र रुक्मिणी
कुल्चिरहेछौ वर्षौंदेखि रहरहरू मेरा कहिले बुझ्छौ र मान्छौ मलाई संसारकै जननी
हटाउँदै दुष्कृत्य मानवको सृष्टिमा नवीन र रंगीन फूल फुलाउने मन छ
बदल्दै सारा आमाहरूको जीवन पहिलाउँदै नयाँ बाटाहरू सन्तोषको साथ मुस्कुराउने मन छ
नसम्झ म सती हुँ तिमीसँग जल्नेछु त्यो चितामा हजुरआमा जिजुमुवाझैँ दनदनी
नसोच निमोठ्न सक्छौ मेरा इच्छाका मुना म उभिन सक्छु आज दुर्गा चण्डी बनी
बिर्सिएर आमाको काख अनि ती हात समात्दै ताते गरेका क्षणहरू सोच्छौ आज त्यसै जवान भए
कहिले पढ्न सक्दैनौ आमाका छातिमा लेखेका तिमीप्रतिका स्नेहका शब्द तिमीमा छ आडम्बर अनि मतलबी दुनियाँको भय
मैले यो घर नसिंगारेको भए, यी अन्नपात स्याहारेर नराखेको भए कसरी मिल्छ तिमीलाई यो मीठो भोजन र न्यानो ओछ्यान
चक्रझैँ पृथ्वी नघुमेमा यी नौ ग्रह तारा नभएमा कसरी सम्भव हुन्थ्यो यो साँझ बिहान
म माधवी होइन, गोमा ब्राह्मणी होइन, कसैले दान माग्देमा दिने विचार छोडिदेऊ
सक्छौ सघाऊ यो स्वतन्त्रताको बिगुल फुक्न सक्दैनौ भने बाधा नबन पाइला अन्तै मोडिदेऊ
आऊ गरौँ बराबरीको हिसाब तेल पनि थप समानताको दीयो सँगसँगै जलाउने मन छ
अन्त्य गर्दै लैङ्गिक विभेद दमन र शोषन एक नौलो बिहानी हेर्दै मुस्कुराउने मन छ ।
नीरा अधिकारी “शयली”
महाङ्काल गाउँपालिका, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
