तिमी पनि खुब छौ माया
तिमी पनि खुब छौ
हजारौं रुप धरेर
सजावटका कलिला मनमोहक पातहरू ओढेर
विभूषित पृथक् अलंकृत शृङ्गारले
मलाई बिचल्लीमा पार्न
मलाई मबाट च्यूत पार्न
हजारौं अनित्य विषयहरू
मेरो सामु विचित्र ढंगले प्रस्तुत गर्दछौ
मलाई मेरो प्रियतमसँगको सामीप्यमा खलल पार्न
गजबको खेल खेल्छौ, माया
गजबको खेल खेल्छौ
तिम्रो कदर गर्छु, माया
तिम्रो कदर गर्छु
तर तिमी मेरो त्यो तिर्खाको गहिराईलाई छुन सक्दैनौ
जुन मेरो अनन्य प्रेमबाट उठेको छ
मेरो प्रियतमको लागि
महासागरको छाल बनेर
त्यो महासागरमै विलीन हुनलाई
जुन अनन्त र नित्य छ
तिमी बुझ्दैनौ, माया
तिमी बुझ्दैनौ
तिम्रो ती आकर्षक स्वरूप
सबैको मुटु चोर्ने तिम्रो क्षणभङ्गुर रुप
जसले मलाई मलिन पार्दथ्यो
मभित्र विलय भइसकेका छन्
मेरो प्रियतमको निश्चल र असीम प्रेममा
उसको एक स्पर्शले मलाई निर्मल बनाइदिन्छ
ऊसँगको समागमले मलाई अमूल्य तुल्याइदिएको छ
तिमी व्यर्थ नै मलाई मोहित पार्न खोज्छ्यौ
मेरै रुप ओढेर मलाई झुक्याउन चाहन्छौं
तिमी पनि खुब छौ, माया
तिमी पनि खुब छौ।
_______________________________________
देशलाई रातो रगत चाहिएको छ
आज फेरि देशलाई
रातो रगत चाहिएको छ
तातो भगत चाहिएको छ
आगो जस्तै
जसको तापमा सबै अशुद्ध कुरा जलेर
शुद्ध खरानी बन्छ
आज फेरि देश आसुरी शक्तिको चपेटा छ
अनाचार, कुविचार, भ्रष्टाचार, पापाचारले
कमजोर, रुग्ण, दुर्बल, मलिन भएको छ
आमा रोइकराई रहेकी छिन्
वेदनाले: सत्य, साहसी सुपात्रको सट्टा
मात्र निरीह, कलुषित कुपात्र जन्मेकामा
मात्र लुटेरा, भोगी, पद लोलुप उम्रेकामा
एक चोटी फेरि इतिहास फेर्ने पालो आएको छ
आमा आहुति माग्दैछिन्
शुद्धताको जन्म दिनलाई
भीमसेन तथा गंगालाल दोहोर्याउनलाई
अरनिको र बलभद्र उब्जाउनलई
वेद व्यास र गौतम बुद्ध जन्माउनलाई
शान्ति र समृद्धि अनायास आउदैन
आसुरी साम्राज्य मेटाउन
सत्य राज्य स्थापित गर्न
महाभारतको जरुरत पर्दछ
दुर्योधन र कौरव सस्तैमा मेटिदैनन्
अर्जुन, पाण्डव र कृष्ण चाहिन्छन्।
आज आमालाई जरुरत छ
उनको शस्त्र र शास्त्रयुक्त सन्तानको।
दुप्चेश्वर माध्यमिक विद्यालय,
नुवाकोट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।