किन रातभरि अनिदो बनाएर
भर्खरै भ्रूणमा जागेका
एउटा एउटा सपना
आकाशमा
टिमटिमाएको ताराझैँ
उल्का बनेर खसेका छन्
र यो रात
अनिदो मुहारझैँ उदास छ
अनि…उदास छ
देश पनि !

यो देश
हामीलाई कलिला सपनाहरूको
मलामी बनाएर
कतिन्जेल खाडीमा पठाउँछ होला ?
शान्तिको अमोघ मन्त्र रटाएर
कतिन्जेल कारगिलमा खटाउँछ होला?

आओ ! आन्दोलन गर
ए सपनाहरू !
तिमीले यी आँखामा
बास पाउनुपर्छ
यहाँ हामी चयनले निदाउन पाउनुपर्छ
..इन्क्लाब गर
खबरदारी गर!
परेली अझै लोलाएका छैनन्
कचिना यी आँखाका चेपमा
बसेका चिप्रा
अझै कतै हराएका छैनन् !

यहाँ
हरेकलाई
हरेक दिन
आफ्नै सपनाहरूको मलामी बनाइएको छ
र जिउँदै चितामा राखी
सल्काइएको छ चिताका चाङहरू

हो अब आफैँ
मसान हुन मात्रै त बाँकी छ!
सुन्यौ नि…कसैका लागि
फेरि राता बाकस
सजाइएको छ !
हामीलाई वर्षौँदेखि
सपनाका मलामी बनाइएको छ !