यो विषाक्त शहर हो
यहाँका हरेक चिजहरू विषाक्त छन्
यहाँका हरेक गल्लीहरू विषाक्त छन्
यहाँका हरेक नदीहरू विषाक्त छन्
यहाँका हरेक मान्छेका हरेक विचारहरू विषाक्त छन्

विषाक्त छन् यहाँका हरेक दृश्य, अदृश्यहरू
यहाँका हरेक ठूला साना महलहरू विषाक्त छन्
यो शहर होर्डिङ बोर्डमा अमृतको प्रचार गरेर
पछाडि विष बेचिरहेछ

यो शहर अमृत भनेर विष बेच्नेहरूको शहर हो
यो शहर ओखति भनेर शराब बेच्ने शहर हो

यो शहर हरेक रात
कुनाका गल्लीहरूमा नवजात शिशुहरूको
बार्गेनिङ गर्छ
कलिला किशोरीहरूको मोलमोलाई गर्छ

यो शहर बाहिरबाट जति सुन्दर देखिन्छ
भित्रबाट त्यति नै कुरुप छ
यो शहर भित्रभित्रै खोक्रो भइसकेको छ

यो शहरका चलेका युनिभर्सिटीका प्रोफेसरहरू
विद्यार्थीहरूलाई समानता
समता
अहिंसाको लेक्चर दिएर
घरमा आफ्नै श्रीमती कुटी बस्छन्

यहाँका बौद्धिक कहलिएका विद्वानहरू
आफ्ना हरेक विचारहरूमा
विष ओकलिरहेछन्
केवल विष…

यहाँका हरेक स्कुलहरू/ कलेजहरू
स्टुटेन्टको मस्तिष्कमा विकार भरिरहेछन्
स्कुलका टिचरहरू
विषाक्त ज्ञान बेचिरहेछन् स्टुडेन्टहरुलाई…
यहाँका स्टुटेन्टहरू
मस्तिष्कमा विषाक्त ज्ञान बोकी हिँड्छन्

भट्टीकी साहुनी मदिरा भन्दै
विष बेचिरहेकी छिन्

हरेक औषधि पसलहरू
ओखति भन्दै विष बेचिरहेछन्

यो शहरको न्यायालय विषाक्त छ
न्यायाधीश विषाक्त छ
हरेक सरकारी कार्यालयहरू विषाक्त छन्

यही शहरमा बसेर कविता लेखिरहेको
यो कवि पनि विषाक्त छ
यो कविता पढिरहेका
हरेक पाठकहरू विषाक्त छन्
यो कविता स्वयं विषाक्त छ

यो विषाक्त शहर हो
यहाँका हरेक चिजहरू विषाक्त छन् ।

 

देवदह-०५, खैरेनी