घामले जिस्काएका जस्ता
जूनले पछ्याएका जस्ता
बिहानै झिसमिसेमै पाखाबाट बोकी
एक भारी थुप्राएका जस्ता

यी कविता महोदय
मेरो गाउँका कविता

पर्खाएका जस्ता
तिर्खाएका जस्ता
परदेशीको नमिठा झल्कोले
गज्जबले सताएका जस्ता
भेट्न आएका जस्ता
भेट्न नपाएका जस्ता
आफ्नाको आफ्नै व्यस्तताले
फोन नउठाएका जस्ता

एक्लो पनाले ओढ्ने
फर्जी खोलका कविता
शोक काव्यका धङधङी जस्तै यी
मेरै टोलका कविता

डोकोले छोपेर लुकाएका जस्ता
दलिनमा सिउरेर सजाएका जस्ता
ओइलिन्छनकी भनेर कहिले बुँइकल र चोटामा
छटपट छटपट भै मिल्काएका जस्ता
मैले नै बनाएका जस्ता
तिमीले नै पठाएका जस्ता
कहिले बाको बुट, कहिले आमाको पछ्यौरा
सबैले बराबर अपनाएका जस्ता

दसैँ जस्ता, माघे सङ्क्रान्तिमा झल्किने
चोखो आफ्नोपनका कविता
यी माया प्रेम नबुझी माया गर्दिने
प्रत्येक घर आँगनका कविता

हृदय जस्ता, चन्चल समय जस्ता
पीडा, रोदन, आँसुका अभय जस्ता
घुलमिल, बेफिक्री, सान्निध्य र औचित्यकै लागि
मनमय, रङ्गीन र निश्चय जस्ता
पारुखको भौतिकताको उदय जस्ता
बुट्टा जस्ता, निर्मलताको अभिनय जस्ता
स्पन्दनका भित्री झन्कारको प्रणयमा
रसमय, विनय र सर्वप्रिय जस्ता

कहिले पर्दाले छोपिदा
व्यग्रता, छुब्द र अस्थिरका कविता
कहिले अजङ्ग गर्वले सोभित हुँदै
पाउ छुन उद्धत शिरका कविता
यिनै बाटोमा छ्यापछ्याप्ती भेटिने
यतैका, यी हाम्रोतिरका कविता ।

 

दुधौली-1,गिचिहानी, सिन्धुली