वसन्त ऋतुको पूर्वसन्ध्या
अर्थात् फागुन अठारको मालाश्री उज्यालोमा
आकास खुलेको दिन
बिहानी पाखाको लालिमा
पहाडबाट लालीगुराँसका पराग
रंगमा मिसिएर उज्यालिंदै
हाम्रो घरको बलेसीमा टुप्लुक्क आइपुग्यो

हिमालदेखि सुसाएको आवाज
हावाको एक मुठी वायु लिएर
गरिब दुःखीको मनमा खुशी उमार्न
नारायणी तरेर हाम्रो बलेसीमा
वसन्तको खुशी उमार्न खेल्न टुप्लुक्क आइपुग्यो

त्यो वसन्ती हावा
त्यो युग परिवर्तनको आवाज
त्यो एक गरिबको खुशी
त्यो लाली मिसिएको गुराँसको पराग
र त्यो हिमालय सुसाएको आवाज
च्याहाँ च्याहाँ,
त्यो ओह्याँ ओह्याँ,
अरु कोही नभएर मेरी छोरी थिइन्

हजारौँ रोगी आत्माहरूलाई सुम्सुम्याएर
आरामको कामना गर्ने मेरी छोरी
जीवन बाचुन्जेल प्रेमसँग जिउन सिकाउँदै
हातमा पन्जा लगाएर बिरामी स्याहार्ने हाम्री छोरी

परोपकारको मधुरसमा पौडी खेल्दै
प्राणहरूको पोखरीमा सम्हालिंदै
प्रत्येक मृत्युन्मुख शरीरमा
जीवनरुपी बिज रोप्ने मेरी छोरी
अन्तर्राष्ट्रिय जातको एक फूल
विश्वको सदाबहार कल्याण
र आशाको ज्योति मेरो छोरी

तिम्रो जन्म सार्थक छ
तिम्रो मन बोधी वृक्षझैं
सदा सर्वदा पवित्र छ
तिम्रा हातहरू हिमालयका संजीवनी जस्तै
सदा सर्वदा उपकारी मृत्युन्जयी छन्
तिम्रो शरीर हिमालयजस्तै उचाइमा
प्रतिमा बनेर गर्व गर्न लायक छ
तिम्रो सेवाले मानव कल्याण होस्
तिमा हातले प्राणका बिरुवा बाँचिरहून्
तिम्रो कामनालाई देवताले सुनून्
तिम्रो मन कामधेनु बनोस्
तिम्रा फूलजस्तै हातहरू परमार्थी उज्यालोमा मग्मगाइरहून्
युगयुगसम्म
तिम्रा पाइलाहरू सेवाका
सिरिप सेवाका दधिची कदम बनून् ।