
आज पूर्णचन्द्रको रात / आज पूर्णिमाको रात
यसै पूर्णचन्द्रको मध्यरातमा
म कोठाको नीरवतालाई
भत्काउने सोच्दै थिएँ
अनायासै पर्दाहरू सरर हल्लिए
सिरिरी बतास आयो
मेरो स्वप्नागारभित्र तिमी आयौ
तिम्रो शारीरिक कस्तूरी सुगन्धले गर्दा
कोठाका रबरप्लाण्ट र मनिप्लाण्टका
नयाँ मुनाहरूले तिमीलाई स्वागत गरे ।
कोठाको शून्यताभित्र भित्तेघडीको
टिकटिके पर्खाललाई ढाल्न खोज्दै थिएँ
अकस्मात तिमी आयौ/ तिम्रो आत्मा आयो
चहकिलो तिम्रो आत्माको प्रकाशले
मेरो कोठाको कुनाकुना जगमगाए
एकपटक त मेरो आङ जिरिङ भयो ।
तिम्रो मृत्युपछिको यो पहिलो भेटले
तिम्रो आत्मा र म सशरीरबीच
हाम्रो पहिलो तथा अन्तिम पटकको
सुहागरात मनाउन लागेको थियो ।
बाहिर असँख्य उल्लू, चमेरा र
कुकुरहरूको भयानक भुकाइ सुनिन्थ्यो
तिमी क्रमश: ममा समाहित हुँदै गइरहेकी थियौ
र म क्रमश: तिम्रो आत्मासँगसँगै
अन्तरिक्षतिर लाग्दै थिएँ
तिम्रो आत्मासँगै/आत्मा भएरै
सपनाबाट पनि टाढा/टाढा भाग्दै थिएँ ।
पशुपति देउपाटन, पाचाटोल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

