निर्मल योगी

 

प्रेमनामा-१

-प्रेम नर्बस छैन अहिले
-प्रेम मौन छैन अहिले
-प्रेम टयाक्कै शालीन पनि छैन अहिले ।

फूलको दोष नै त्यो निर्दोष हुनु
काँडाको दोष नै त्यो विषालु हो भने
-पहिलोचोटी जुन दिन हो फूलको हातमा काँडाको डाली देखा परेको

काँडाको हातमा सुन्दर फुल्गुच्छा..

पहिलोचोटी जुन दिन हो प्रेमले मनमा घातको धारिलो औजार बोकेर हिँडेको

घातको आँखामा सेतो कमल फक्रेको

## त्यही दिनदेखिन हो प्रेमले रङ फेर्न थालेको
त्यही दिनदेखिन हो प्रेमले बैरागी राग अलाप्न छोडेको ।

किनभने काँडाले नै हो भन्दै-भन्दै आएको
कि फूल कति सुन्दर हुन्छ
कि फूल कति कोमल हुन्छ
तर फूलले त सधैँ यही भनिरह्यो
कि काँडा जस्तो विषालु केही छैन
कि काँडा जस्तो खतरनाक केही छैन ।

फूलले काँडाको बढी-बढाई गरेको कुनै आख्यान होला नहोला
तर काँडाले फूलको सौन्दर्यको रक्षा गरेको इतिहास प्रकृतिले दिन्छ

तर जुन दिनदेखिन हो फूल मनलाई बिझ्न थालेको
त्यही दिनदेखिन हो फूलको सम्मोहनबाट मन मुक्त भएको
र त्यही दिनदेखिन पनि हो काँडाको विष बेअसर हुन थालेको ।

जसरी फूलको आरिसले नै हो फूलले आफूलाई कुरूप पारेको
त्यसरी नै फूलप्रतिको आफ्नु प्रेम-समर्पणले हो काँडाले सुन्दरताको नयाँ आयाम स्थापना गरेको।

यसकारण पनि
अहिले घरि प्रेम नर्बस छैन
अहिले घरि प्रेम मौन छैन
अहिले घरि प्रेमको नयाँ नमुनाले दुनियाँ जति उत्साहित

रोमाञ्चित छ त्यति त कहिले पनि थिएन

-काँडाको सुन्दरता निखरेको दिनदेखिन नै हो
प्रेम पुनर्भाषित भएको ।

अहिले प्रेमको नयाँ स्वरूपले मोहित छ दुनियाँ ।

००००

प्रेमनामा-२

यदि कुरा प्रेमकै हो भने
त्यो केवल मात्र प्रेमकै होस्
अर्थात सप्रेम।

जस्मा-
अलिकति पनि कपट नमिस्सेको
अलिकति पनि शंका नउम्रेको
अलिकति पनि घृणा नघोलिएको
अलिकति पनि बेमानी नलुकेको
तर विशुद्ध ।

त्यो सम्पूर्ण प्रेम होस्
उज्यालोमा पनि
अँध्यारोमा पनि
सपनीमा पनि
विपनीमा पनि
पानीले धोएको
आगोले खारिएको
-हरेक परीक्षाहरूमा उत्तीर्ण तर प्रमाणहीन ।

यदि यो त्यही प्रेम हो भने मलाई विस्वास छ कि
-त्यो प्रेमले मेरा जम्मै मयलहरू धोइदिन सक्छ
-त्यो प्रेमले मेरा सारा घाउहरू जाती पार्न सक्छ
-त्यो प्रेमले मेरो भाँच्चिएको मनमन्दिरको पुनर्निर्माण गर्न सक्छ
मलाई पूर्णतया नयाँ पार्न सक्छ

म प्रेमजस्तै प्रेम हुनेछु।

यदि यो त्यही प्रेमको कुरा हो भने ।

०००

 प्रेमनामा-३

हेर्नू घृणालाई
त्योभित्र पस्नू ।

जब देख्नेछौ आफ्नु मनको भित्तेचित्रमा
जताततै छलकपटको कालो थोप्ला थोप्लाहरू
बुझ्नू प्रेमजस्तो निस्वार्थ केही छैन।

जब यस्को आन्द्राभुँडी केलाएर हेर्नेछौ र देख्नेछौ
कस्सरी शंका, डर र हताशाहरू गुर्लुम्म गुजुल्टिएर बसेको
बुझ्नू प्रेमजस्तो निडर र स्वतन्त्र केही छैन।

-जब त्यसको फोक्सोको मसिनामसिना प्वालहरू पल्टाई पल्टाई हेर्नेछौ र देख्नेछौ
कस्सरी अमानुषीय मनसायहरू भुरुरुरु उम्रेको
बुझ्नू प्रेम जस्तो पवित्र केही छैन।

यदि त्यो प्रेमकै कुरा हो भने
-पहिले प्रेम गर्नु सिक्नू तिमीले
प्रेमलाई कहिले अप्रेम जस्तो होइन तर सप्रेम

० प्रेम जस्ले तिमीसित केही पाउने आशा गर्दैन
तर सर्वस्व दिनुतम तयार बस्छ
प्रेम जस्ले तिमीसित कुनै गुनासो गर्दैन
तर सधै खुशी जाहेर गर्नलाई ऊसित धेरै कारणहरू हुन्छ ।

० प्रेम-
संघर्षको बेलामा तिम्रो ठूलो हिम्मत ऊ नै हुन्छ
अभावको बेलामा तिम्रो सबैभन्दा नजिकको मित्र ऊ नै हुन्छ
जब तिमी लड़ाईँ हारेर हताश मन बोकेर घर फिर्दै गरेका बेला पनि
तिमीलाई ठूलो हौसला
र शक्ति दिने प्रेरणाको स्रोत
पनि ऊ नै हुन्छ।

प्रेमलाई सधैँ तिमीले प्रेमिलो बुझ्नू तिमीले
चाहे तिम्रो प्रेम रत्तिभर बढेको होस् या नहोस्
या प्रेमकै प्रेम पनि तिमीलाई घटेको होस् या नहोस्
प्रेमलाई सधै प्रेमिलो देख्नू तिमीले।

जब पनि प्रेमको कुरा हुन्छ प्रिय
तिमीले केही भन्न नपरोस्
तर प्रेम आफैँ बोलेको होस् र संसारले त्यो सुनोस् ।