बाछिटा लघुतम काव्यिक उपविधा हो । यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ । जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ ।
बाछिटा रचना तीन-पाँच-तीन अक्षरयुक्त तीन पङ्क्तिमा हुनेछ । बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्नेछ । बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई विस्तार गर्ने वा उत्कर्षतिर लानुपर्नेछ । बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्ने वा मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्नेछ । बाछिटाको तीन पङ्क्तिबीच भाव र अर्थगत सामञ्जस्य हुनुपर्नेछ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमानुसार हुनुपर्नेछ । बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्नेछ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्नेछ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिनेछ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि वा पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य हुनेछ ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते प्रवर्तन भएको हो । प्रवर्तनको छोटो समयमै अनेकौँ अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिँदै आएको छ । अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन् । साहित्यपोस्टको “बाछिटा प्रकाशनमाला-४” मा यसपटक बाछिटा अभियानमा प्रारम्भिक कालदेखि सशक्त रूपमा सहभागी अभियन्ताहरू लता पौड्याल निरौला, दीक्षा सुवेदी, भवानी पाण्डे र उपमा शर्माका साथै
पछिल्लो समयमा बाछिटालेखन र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सक्रिय बाछिटाकार कमला महतसमेतका गरी पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएको छ । यसपछि अन्य अभियन्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमशः प्रस्तुत गरिनेछन् । बिस शृङ्खला पुगेपछि सय जना बाछिटाकारका सय दर्जन बाछिटाहरू सङ्कलित
“समकालीन नेपाली बाछिटा” नामको कृति प्रकाशन गर्ने योजनासाथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो ।
-अमर त्यागी
पाँच दर्जन बाछिटाहरू
१. लता पौड्याल निरौला
देशको
न्यायिक छटा
क्लेषको
छालमा
माछीको आयु
जालमा
खाडीले
गरिब खायो
बाढीले
लैङ्गिक
विभेद कालो
कैफत
देशको
चिनारी शोभा
भेषको
कर्मको
सन्तुष्टि स्रोत
धर्मको
ध्यानले
चित्त शुद्धता
ज्ञानले
सन्तान
मातृत्व छाया
समान
सहर
जाग्रत चारै
प्रहर
दम्पती
मिलन मोह
सम्पत्ति
भत्तामा
स्याल लडाइँ
सत्तामा
नेतृत्व
जङ्गली ब्वाँसा
व्यक्तित्व
~<>~
२. दीक्षा सुवेदी
विचित्र
संसारी माया
अदृश्य
संस्कार
नीतिको ज्योति
अपार
प्रीतको
भातृसुगन्ध
हितको
कर्मठ
लक्ष्यको चुली
अठोट
इच्छाले
अँध्यारो मेट्ने
शिक्षाले
जीवन
घामको छाया
यौवन
पहाड
चैते जीवन
उजाड
स्वभाव
हिउँदे घाम
प्रभाव
कोमल
भावको छाया
शीतल
बुद्धिको
छहारी विश्व
जुक्तिको
संयम
कर्ममा शौर्य
सङ्गम
व्यक्तित्व
विभास स्वत्व
अस्तित्व
~<>~
३. भवानी पाण्डे
स्वार्थको
कल्मष कृत्य
गर्तको
हिमाली
छायाका कर्मी
नेपाली
हेलामा
सन्मार्गी कर्म
मेलामा
सोचको
बनेली झाडी
खोँचको
जूनको
ज्योति चेतना
सुनको
रोजेनौँ
सत्य सन्मार्ग
खोजेनौँ
चालक
अज्ञान वेग
घातक
जीवन
घामछायाको
सोपान
प्रविधि
प्रयोग कृषि
संवृद्धि
रातमा
प्रेयसी जून
साथमा
बगर
बाँच्नु जीवन
कहर
साहस
अटल गिरी
ढाडस
~<>~
४. कमला महत
सुवास
विहीन काँडा
प्रवास
बुद्धको
अहिंसा यात्रा
शुद्धको
पर्खाल
भित्रको फूल
निर्बल
श्रमिक
सत्यमार्गमा
भ्रमित
सम्मान
उद्यान शोभा
जीवन
अनन्त
प्रेम छहरा
निबन्ध
आफन्ती
साथमा रात
विकृति
फुल्दै छ
फूलमा भृङ्ग
डुल्दै छ
गुनासो
स्वच्छ कर्नमा
सनासो
आशाको
उज्यालोपन
भाषाको
सौभाग्य
चाँदनी प्रीत
आरोग्य
त्रस्त छन्
व्याधि बिपदा
ग्रस्त छन्
~<>~
५. उपमा शर्मा
जिन्दगी
बागको पुष्प
सुगन्धी
हृदय
भावको भूमि
आलय
संसारी
प्रणयपुष्प
मञ्जरी
अँध्यारो
कोरोना व्याधि
औँसीको
चुँडियो
पिरती पात
हुरीले
वसन्त
बैँसको चाह
अनन्त
पर्खाइ
खोलाझैँ चिन्ता
बगाइ
दुखाइ
वेदना मूल
फुटाइ
हेराइ
ईर्ष्यालु काँडा
बिझाइ
शब्दमा
चोइट्यो मुटु
निःशब्द
मायामा
काँडा बिझेछ
कायामा
तपस्वी
सूर्य सदैव
ओजस्वी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।