साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मुरारिका एक्काइस झरहरू

Chovar Blues Mobile Size
मुरारीराज मिश्र

१. खम्बाजस्तै भयो जिन्दगी,

जेलिएका छन् समस्याका तारहरू !

 

२. भ्यागुताहरू कराउने बेलामा,

कोइलीको के काम !!!

 

३. सपना देख्न निदाउनुपर्छ हजुर,

खुला आँखाले त संसारमात्रै देखिन्छ !

 

४. शब्दको पनि स्वाद हुन्छ, बोल्नु अघि चाखौँ !

मीठो लागे मात्रै बोलौँ नत्र आफैँ राखौँ !!

 

५. ओखती हो तिम्रो मुस्कान

दिनभरिको मेरो थकान बिर्साउँछ !

 

६. आँखाको आँसु लुकाऊँ,

ढोका खोल्दा मुस्कुराऊँ !

 

७. पीडा त सबैको एउटै नै हुन्छ हजुर,

कोहि आँसु झार्छन्, कोही हाँसेर टार्छन् !!

 

८. दियो निभ्नुमा ‘हावा नै दोषी’ नहुन सक्छ,

झट्टै आरोप नलगाऊँ ‘तेल सकिएको’ हुन सक्छ !

 

९. जिब्रो तरबार त होइन,

तर यस्ले मुटु चिर्न सक्छ !

 

१०. कस्तो अचम्म !

आँखा एउटाको, आँसु भरिदिन्छ अर्काले !!

 

११. मन तृप्त हुँदा एक थापा पानी पनि बर्सातझैँ लाग्छ,

अतृप्त मनले त पूरै समुद्र पनि कम नै ठान्छ !

 

१२. अभावमा पनि खुसीहरू भेटिन्थे पहिले,

सम्पन्नता छ तापनि खुसी भेटिन्न अचेल !

 

१३. काटिनु छ भन्ने थाहा हुँदाहुँदै पनि उड्न छोड्दैन !

वास्तवमा जिउने कला त चङ्गाले पो सिकाउँछ !!

 

१४. घडी त सस्तैमा पाइन्छ हजुर,

समय पो महँगो छ त !!

 

१५. असल कार्य गर्दै जानुस् कसैले प्रशंसा गरून् नगरून्,

हाँगा काटे भनेर रूखले अक्सिजन दिन छोड्छ र ?

 

१६. आ-आफ्नो विवेकको कुरा हो हजुर,

चोरले त चन्द्रमालाई पनि शत्रु नै ठान्छ !!!

 

१७. गुन त दुवै लगाएका हुन्छन् घरलाई,

तर “छत”ले देखाउँछ “जग”ले लुकाउँछ !!!

 

१८. निकालेपछि पनि किलाको डोव बाँकी नै रहन्छ,

वचन पनि त्यस्तै हो हजुर !!!

 

१९. म सबैभन्दा माथि छु भनेर घमण्ड नगरौँ कि हजुर !

तला थपिएपछि घरको छत पनि भुईँमा बदलिन्छ !!

 

२०. बिरामी हुँदा सहयोगमा नउठ्ने हातहरू,

समवेदना लेख्न कति छिट्टै हतारिन्छन् !

 

२१. तिमीले अनुहारमा फिँजिएको कपाल हटायौ,

मैले भन्ठानेँ चन्द्रमा उदाएछ !

*****

उमामहेश्वर मार्ग, कामपा ७, कुमारीगाल

 

प्रतिक्रिया
Loading...