उनकै मुस्कान सम्झेर दुनियाँ, भुल्न थालेको छु
साँझ परेपछि प्यालासँग सधैँ, झुल्न थालेको छु।
घर अनि आफन्त सबैलाई, पराई नै ठानेर
सडक, गल्ली अनि झाडीहरूमा, डुल्न थालेको छु।
सुख-दुःख बाँड्ने साथीहरू, कति थिए कति मेरा
अहिले दिनदहाडै गिलासभित्रै, घुल्न थालेको छु ।
सांसारिक मायालाई हदैसम्मको, तुच्छ सम्झेर
योगी, तपस्वी र तपोवनमाझ, खुल्न थालेको छु ।
गुलाफ भई हाँस्न त, कसलाई रहर हुन्न र ?
उनिउँहरूको सहयात्री बनी, फुल्न थालेको छु ।
अधबैँसे उमेरमै आखिर, ढल्छु पक्कै थाहा छ
र त मसानघाटको वरिपरि, डुल्न थालेको छु ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ फाल्गुन २०८२, बिहीबार 




