भैगो अब मान्छेहरू मलाई कहिल्यै माया नगर
भेट्न आउने पुल छैन, आश्वासनको खोला नतर ।
पत्थर बनिसकेँ म, पग्लिहाल्ने हिउँ नसम्झ
गरिखान सकेकी छु, मेरो कमजोर जिउ नसम्झ ।
सङ्घर्षमै हुर्केकी हुँ, हतास हुन कहाँ सक्छु र ?
हुर्र आएर खुर्र जाने, बतास बन्न कहाँ सक्छु र ?
अब तिम्रो आसै छैन, मेरो पनि भर नपर
भेट्न आउने पुल छैन, आश्वासनको खोला नतर ।
आफन्तमा आफ्नोपन देख्न छोडिसकेँ मैले
तर पनि खुसी छु म, बाटो मोडिसकेँ मैले ।
दुःख सबै बुझेकी छु, रमाउन जानेकी छु
पसिनाकै पौरखले कमाउन जानेकी छु ।
जोर्ने हात–मुख नै हो, त्यस्तो ठूलो छैन रहर
भेट्न आउने पुल छैन, आश्वासनको खोला नतर ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ फाल्गुन २०८२, बिहीबार 




