भैगो अब मान्छेहरू मलाई कहिल्यै माया नगर
भेट्न आउने पुल छैन, आश्वासनको खोला नतर ।

पत्थर बनिसकेँ म, पग्लिहाल्ने हिउँ नसम्झ
गरिखान सकेकी छु, मेरो कमजोर जिउ नसम्झ ।
सङ्घर्षमै हुर्केकी हुँ, हतास हुन कहाँ सक्छु र ?
हुर्र आएर खुर्र जाने, बतास बन्न कहाँ सक्छु र ?

अब तिम्रो आसै छैन, मेरो पनि भर नपर
भेट्न आउने पुल छैन, आश्वासनको खोला नतर ।

आफन्तमा आफ्नोपन देख्न छोडिसकेँ मैले
तर पनि खुसी छु म, बाटो मोडिसकेँ मैले ।
दुःख सबै बुझेकी छु, रमाउन जानेकी छु
पसिनाकै पौरखले कमाउन जानेकी छु ।

जोर्ने हात–मुख नै हो, त्यस्तो ठूलो छैन रहर
भेट्न आउने पुल छैन, आश्वासनको खोला नतर ।