टालो लिएर जाऊ सय प्वाल टाल्नलाई ।
चाहिन्छ आँसु मनको मैलो पखाल्नलाई ।

आत्मा शरीर छोडी जाला सहज के सोच्छौ ?
गाह्रो छ तिम्रो मेरो बन्धन चुँडाल्नलाई ।

जरुरत छ याद मेरो ? आँखा लिएर जाऊ
तिम्रो उजाडिएको बस्ती बसाल्नलाई ।

टेकेर लासमाथी के राजनीति गर्नू ?
मुर्दा लिएर जाऊ सन्ताप फाल्नलाई ।

हेरेर मात्र जानू फेरेको सास अन्तिम
पाऊँ भनी नखोज्नू त्यो काँध हाल्नलाई ।