बुहारीले छोरा लिएर
घर छाडेको दिन
र, छोराले बुबाआमालाई लगेर
वृद्धाश्रममा छाडेर गएको दिन
बाहिर परेको पानीको नाप त
रेनगजले नाप्न सक्यो होला
आमाबाबुको मनमा परेको झरी
त्यसले नाप्न सकेन
यो बेला
विज्ञानको आविष्कारले
फाटेको कपडा त टाल्न सक्यो
फाटेको मन टाल्न सकेन
अर्थतन्त्रमा मुद्राको आवश्यकता ठानेपछि
हुने-खानेहरूले सुन रोपेर हिरा फलाए
भएपछि खानेहरूले पसिना रोपे
अनि आधा पेट खाए
पैसाले आफन्तको दूरी नाप्न थालेदेखि
पैसाकै पछि लाग्दालाग्दै
जवानी फुलिसकेछ
वैज्ञानिक आविष्कारको सदुपयोगले
पैसाको मात्रा त बढायो
तर त्यसले बितेको समय किन्न सकेन
महोदय,
बाँचेर दुई दशक तन्नेरी जीवन,
यो युग मेरै हो – कदापि नठान्नू
खोजले क्लोनिङ गरेर
अर्को ‘म’ जन्माएपछि
परमाणु प्रतिस्पर्धा बढेको दिन
विश्व नै प्रलयको लयमा फर्कने हो कि
नमेटिने डोबदेखि सारै डर लाग्छ
फेरि
हिरोसिमा, नागासाकी रुने मन छैन
विज्ञानको चेतनाले मानव संहार हुनु हुँदैन
फलाममा मानवता जाग्नुपर्छ
तर, लिटिलब्वायमा अझै
संवेग जगाउन सकेको छैन
महोदय,
ताकेर बन्दुकबाट छुटेको गोली
निशानामा लाग्दै लाग्दैन कदापि नठान्नू
विज्ञानको ज्ञानले
तिमीले मरुभूमिमा बिरुवा उमारेर
चन्द्रमाबाट ग्रेटवाल चियाउँदै
अर्को म जन्माइसक्यौ
विश्वलाई हातमा चुमिसक्यौ
अब म,
पानी उमालेर फलाम गाल्न चाहन्छु
पानीविना माछा पाल्न चाहन्छु
हिरा निलेर भोक मेट्न चाहन्छु
बितेको जवानी फेरि भेट्न चाहन्छु
यहाँ अझ धेरै तिम्रो सिद्धान्तको खाँचो छ
बोटबाट खसेको स्याउ देखेर
… न्युटन्स ल त प्रतिपादन भयो
विज्ञान महोदय !
अब बाबुआमाको आँखाबाट
कति आँसु खसेपछि
‘फादर्स एण्ड मदर्स ल प्रतिपादन होला ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










