आकाश उज्यालो हुनलाई बादल फाट्नुपर्छ,
हल्का–हल्का हावा पनि चल्नु पर्छ।
हो यस्तै, मान्छेको जिन्दगीले पनि
बेला–बेला रङ्ग बदल्नुपर्छ।
तर, दुःख लाग्छ,
हाम्रो सरकारले देशमा कुनै रोजगार दिन सकेन।
त्यसैले म जस्ता लाखौँ युवाहरू
विदेशी भूमिमा पसिना बगाउन बाध्य छौँ !
हामीलाई पनि त रहर छ नि
आफ्नै घरमा बस्ने, अनि
आमाले पकाएको त्यो… गुन्द्रुक र ढिँडो खाने।
तर के गर्नु ? गरिबीले घरमा बस्न दिएन।
एक मनले भन्छ,
अब नेपालमै गएर केही गर्नुपर्छ ।
फेरि अर्को मनले भन्छ,
होइन तँ नेपाल गएर के गर्छस् ?
न त तँ राम्रोसँग झूट बोल्न सक्छस्,
न त तैँले कुनै नेताको झोले बन्न जानेको छस् ।
अनि आँखा मिच्दै–मिच्दै साहुको मेला जान्छु ।
नेपाल सरकारसँग मेरो कुनै गुनासो छैन ।
अझै धेरै युवा बेच्नु, तँलाई शुभकामना छ !
आफ्ना रहर, सपना सबै मार्नुपर्छ,
किनकि म त परदेशी मान्छे हो नि त !
चाडपर्व आउँछ अनि घरबाट आमाको फोन आउँछ।
आमा भन्नुहुन्छ, “बाबु, तँ यो साल पनि आउँदैनस् ?”
म भक्कानिँदै भन्छु, “आमा, नमरी बाँचे, दैवले साँचे,
अर्को साल आउँछु नि ल !”
यत्ति भन्नासाथ मेरी आमाले रुँदै–रुँदै फोन काट्नुहुन्छ।
हो, यस्तै–यस्तै हुँदै बितेका छन्
म परदेशीका दिनहरू।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 









