मेरो एउटा साथी छ
ऊ मेरै साथ रहन्छ हर समय
दुःख–सुख, हँसाइ, रुवाइ
खाँदाखेरि, लाउँदाखेरि
गाउँ–घर चहार्दा
ऊ ढुक्कसँग मसँग रहन्छ ।
मैले बोल्न आँ मुख बाउँदा
उसले अलंकार बुझेर बोलिसकेको हुन्छ ।

मेरो एउटा साथी छ
सभा–समितिमा ऊ डाइसमा बस्छ
मलाई श्रोता–दर्शकको पङ्क्तिमा बसाउँछ
र मतिर हेर्दै मुसुक्क हाँस्छ ।
खद्दर, टोपी लगाएर ठुलो मान्छेको स्वाङ रच्छ
चुनावको मौसम आओस् मात्र न !
ऊ नेताको धुपौरे हुन्छ
मनमनै सपना बुन्छ ।
नेताको पकेट गरम गरेपछि आश्वस्त पार्छ
शोरुमको नयाँ स्कर्पियो किनेर ठुलो सास फेर्छ
अनि एकान्तमा ड्रेसिङ ऐना अघि उभिन्छ
ठुलो बनेको अनुभव गर्छ
पक्क–फुक्क पर्छ
अनि लाजै नमानी ङिच्च सुन ठोकेको दाँत देखाउँछ।

मेरो एउटा साथी छ
अचम्मको छ ऊ ।
हिजोआज उसले एउटा पसल पनि थापेको छ,
त्यो पसलमा जाति, जात
धर्म–कला–संस्कृति राखेको छ ।
मनपरी बेचेको छ
मनग्गे धन कमाएको छ
तर सबैलाई खुसी बनाउने क्रममा आफू दुःखी बन्दै छ ।

मेरो एउटा साथी छ
चानचुने चिर्कटा जम्मा गर्छ
धुपौरो बनाउँछ
भाँडो बनाउँछ
आफैँ भाँडो बन्छ
कोदालो बनाउँछ
आफूलाई पुर्ने खाल्डो आफैँ खन्छ।

मेरो एउटा साथी छ
आफूलाई काले–कृष्ण बनाउँछ
बेमौसममा रास रचाउँछ
गोपिनी भेला पारी नाच नचाउँछ।
एक्कासी ऐना अघि उभिन्छ
आफूलाई नियाल्छ
कतिखेर डोरेमोन
कतिखेर लाेविता जस्तै देख्छ !

मेरो एउटा साथी छ
बुढेसकालमा तन्नेरी नै छु भन्छ
आकाशका नौलाख तारा गन्नु झैँ गर्छ,
अनि पाँच वर्ष निस्फिक्री रहन्छ
र, अर्को चुनाव पर्खिन्छ…………..!