फुस्रो–फुस्रो लाग्छ मलाई गुलाब पनि,
रङ्ग उडेको छ उसको हिजोआज
मेरा आँखाहरूबाट !
सुवास हराएको छ मेरो नाकबाट उसको,
यस्तो लाग्छ मलाई कोरोना लागेको छ !

खै ! कहाँ गयो त्यो भमरा हिजोआज,
सुन्दिनँ म उसको गुञ्जन,
देख्दिनँ म उसले रस चुसेको,
यस्तो लाग्छ म बहिरो अनि अन्धो भएको छु !

काग कराएजस्तो लाग्छ मलाई
कोइलीले गाएको पनि,
उफ्फ! कति नीरस भएछु म !

रुप्पी कराएजस्तो लाग्छ
ढुकुरको स्वर सुन्दा,
सुन्दैन मेरो हृदयले
त्यो न्याउली रोएको !

रातको प्रथम प्रहर होस् या झिस्मिसे बिहानी,
भाले बास्दैन मेरो जीवनमा हिजोआज ।

सूर्यास्त बडा रङ्गीन हुन्थ्यो,
फिका–फिका लाग्छ मलाई आजकाल ।

ताराहरू चम्कँदैनन् मेरा आँखाहरूमा,
चन्द्रमा र गहुँको खस्रे रोटी उस्तै–उस्तै लाग्छ आजकाल।
जुनकिरीको उज्यालो गँजेडीले बालेको लाइटर जस्तो लाग्छ,
झ्याउँकिरीको गीत पनि कोलाहलजस्तो लाग्छ
मलाई आजकाल !

रङ्गीन थिए मेरा साँझहरू,
रमाइलो थियो मेरो जिन्दगी
जब हातमा प्याला हुन्थ्यो ।

के गुमाएको थिएँ र मैले
अनि के पाएँ रक्सी छाडेर अहिले ?
अब त फर्कन चाहन्छु,
म फेरि रक्सी पिउन चाहन्छु !