तल्लाघरेलाई आफ्नै
माथ्ला घरेलाई आफ्नै
बीच घरेलाई आफ्नै
या भनूँ, सबै नेपालीलाई
आ-आफ्नै पार्टी चाहिएको छ।
सबका सबलाई नियम आफ्नै,
ऐन आफ्नै, कानुन आफ्नै
मान आफ्नै, मर्यादा आफ्नै
सुर आफ्नै, ताल आफ्नै
भित्र आफ्नै, बाहिर आफ्नै
तल आफ्नै, माथि आफ्नै
सबै आफ्नै बनाउन आ–आफ्नै पार्टी चाहिएको छ।
लाग्छ, पार्टी खोल्ने होडबाजीमा
प्रत्येक नेपाली आ–आफ्नै पार्टी खोल्न
एकदलीय बृहत् सङ्गठन बनाउन
आफ्नै स्वर माथि पार्न दिनहुँ लागिरहने छ,
सदाबहार दिन र रात जस्तै।
तर देशलाई भने देशको दुःख देख्ने
तीव्र विकासमुखी, भ्रष्टाचार विरोधी
पीडितलाई न्याय दिन सक्ने न्यायिक दम भएको
समयसापेक्षित चल्ने
धर्म र कर्ममा विभेद नदेख्ने,
नारी–पुरुषलाई समान देख्ने
एउटै मात्र एउटै पार्टी चाहिएको छ।
कस्ले बनाउला त देशको विकासको लागि पार्टी ?
कहिले बन्ला त देशको गरिबी निकासको लागि पार्टी ?
के बन्ला त सबै आवाजको प्रतिनिधि,
एउटै पार्टी, केवल एउटै पार्टी ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










