ऋण लागोस् तर दिन भने, नलागोस् भन्थिन् आमा।
मेरो न्यानो काख छोडी कतै, नभागोस् भन्थिन् आमा।

आफैँसँग खुसी भए पो, विश्व नै जित्न सकिन्छ,
खुसी खोजेर पैसाको भिख, नमागोस् भन्थिन् आमा।

सहर पसे पनि जन्म त, आखिर गाउँ नै हो,
घरगाउँ नै बेच्ने कुबुद्धि, नलागोस् भन्थिन् आमा।

सकेसम्म इमान बाँड्नू, सबै हाम्रा दाजुभाइ हुन्,
बेमानी पापको जालो कहिले, नटाँगोस् भन्थिन् आमा।

पापको घैलो भर्ने हैन, सधैँ धर्मको मार्ग रोज्नू,
हाम्रो इज्जतको महान् सीमा, ननाघोस् भन्थिन् आमा।