एक समय थियो,
आफ्नो कोही छ जस्तो लाग्थ्यो,
आशाहरू उम्रन्थे,
हुर्कन्छन् जस्तो लाग्थ्यो।
ऊ अरू नै कोही थियो,
म अरू नै कोही थिएँ,
ऊ विश्वास छर्थ्र्यो,
म भरोसा टिप्थेँ।
ऊ सुनौलो हिमाल,
पुस-माघको न्यानो घाम,
शरद पूर्णिमाको जून,
सबै हो जस्तो लाग्थ्यो।
घाम सियाँल रात दिन
थाहा भएन, समयले वेग हानेको।
गाह्रा-साँघुराहरू पाइला-पाइलामा जो थिए,
फेरि पैतालामा टाँसिँदैछन्।
वसन्तमा पलाएर हरियो, सुन्दर,
झ्याम्म भएको बोट शिशिरले
सिख्रै बनाएछ आफ्नो लागेको अनुहार।
फेरि पनि उसैले दिएको सुपारी टोक्दै,
सडक/पेटी छेउ-छाउमा पोतिने रङ
आज पनि उस्तै छ,
जस्तो हिजोअस्ति थियो,
अनन्त आशामा।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 










