लघुकविता

खुसीकै भए पनि “आँसु” आँसु नै हो,
रुझ्न किन आयौ? मायाकै भए पनि
“जाल” जाल नै हो, जेलिन किन आयौ ?

धेरै काँडा सहेको जिन्दगी हो यो,
बिझाउन सक्छ, प्रिय।
व्यर्थै अँगालोमा बेरिन किन आयौ ?

एउटा मोडमा भेटिएको खुसी
अर्को मोडमा हराउन पनि सक्छ,
व्यर्थै जुनी-जुनीको बाचा-कसम किन खायौ ?

आखिर सँगै हिँड्दा-हिँड्दै पनि जीवनको
अन्तिम यात्रामा नितान्त एक्लो हुनु नै छ,
जुन यात्रामा — न चाहेर मैले तिमीलाई भेट्न सक्छु,
न चाहेर तिमीले मलाई भेट्न सक्छ्यौ।