फूलहरू खसालेर आफूलाई माटोमा मिलाएँ,
मनको गल्लीभित्र भाव बनी उर्लेर आएँ।
रातो जूनको रङ्गले तिम्रो सम्झना दिलायो,
अँध्यारो कन्दराभित्र प्रेमको ज्योति ल्याएँ।
विरक्तिएको मनले सबै घाउ चाटिनै रह्यो,
तिम्रो त्यो न्यानो स्पर्शलाई महसुस गर्न भ्याएँ।
एक्लोपनको सागर छल्न खोज्दा त्यसैमा डुबेँ,
तर डुबानमा भए पनि तिमी भित्रै म छाएँ।
तिम्रो वियोगमा जलेर खरानी भएँ,
खरानी भित्र पनि आफूलाई तिमीमै पाएँ।
कस्तो प्रेम हो यो तिमीमै समर्पित गराउने,
जस्तो कष्ट भोग्नु परे पनि म तिमी सँगै रमाएँ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 




