जीवनका नयाँ नयाँ आयामका
धरातलमा मानिस नामको जीवले
मौन युद्धमा कार्य गर्ने एउटा साधन हो –
बधाई !
जसलाई अवचेतन मनमा बीजारोपण
गरेर एउटा अदृश्य शिखर निर्माण गरी
जटिलताको गोरेटो कोरेर
हरपल पासो थापेको हुन्छ समाजले !!
कठिन जीवनका लय साथै
घनघोर जंगलका यात्रा,
आत्मा सँगको शीतयुद्ध,
सास नै रोकिने उकाली उक्लिएर,
मनोरञ्जनका यावत तत्वलाई
नजर अन्दाज गर्दै,
यौवन र उमेरको सिमारेखा पार
गरि छुन पुग्छ शिखरको
पाइला तब
समाज नामको अदृश्य राँकोले
मुर्झाएको बखत फाल्छ अर्को
धनुष वाण र भन्न थाल्छ !!
जीवन बिर्सिएर पाएको सफलताको अर्थ
छैन,
यसले जिउन जानेन,
तर फर्किंदा विकराल ओरालो
अनि आफै पुरिने खोंचलाई
नियाल्दा मानव त्यो विगतको
बाटोमा लम्किन सक्दैन!!
तसर्थ जीवन बुझ्नेले
आफ्नै गोरेटोका काँडा बिच
सुवासिलो फूल फुलाई त्यसैको लयमा
आफ्नो यात्रा जारी राख्नु पर्नेछ
न कि अन्धो समाजले निर्माण गरेको
बधाईको पछि लाग्ने,
यहाँ जीवित हुँदा बधाई अर्पण गर्ने
भन्दा आर्यघाटमा पुगेर श्रद्धा अर्पण
गर्ने भीड बढी छन,
यहाँ हिँडिसकेको बाटोलाई
नकाकेर नहिँडेको बाटोको सपना
देखाउने बढी छन
यहाँ जलिरहेको मुटु हेरेर
सम्बन्धलाई तस्बिरमा कैद गर्ने बढी छन्,
यहाँ सिधा सरल व्यक्तिलाई
छुरा धस्नेहरुनै समाजसेवी कहलिएर
सम्मानित हुने धेरै छन् ,
यहाँ हरदम पीडा दिएर मुस्कान
चाहने धेरै छन्,
मानवताको बलि चढाएर
सम्बन्ध र नातामा बस्न खोज्ने
धेरै छन्
त्याग, तपस्या, समर्पण र मेहनतले
शिखरमा पुगेकोलाई
बधाई दिन भन्दा
शुन्यमा विलय भएको शरीरमा पुष्प
अर्पण गर्न इच्छुक धेरै छन् !!
किनकी मानिसलाई बधाई दिन गारो छ
समाजले तोकेको शिखरमा परीश्रमले
पुगिसकेको मानिसलाई खसाल्न
सबै तयार छन् ,
लान्छनाका गुच्छा दिन तयार मानव भीड,
असफतामा पल पल निगरानी गर्न
तयार रहेको मानव भीड,
उसले यस्तो गरेछ भनेर
सफल योद्धाको कथा सुनाउने अन्धो भीड
साँच्चैको योद्धा भेट्दा पिठबाट छुरा धस्न
तयार देखिन्छ
उसलाई डर छ कतै त्यो महान योद्धा म
र मेरो सन्तान भन्दा माथी नबढोस्,
उस्लाई पिर छ हिजो शोषण र दमनमा
राखेको शून्य अस्तित्वले
आज आफ्नै नजरबाट
अँध्यारो चिरेर सौर्य किरण र प्रकृतिको
शान्ति महशुस गर्न नसकोस्!!
र थाप्छ हजारौं माखेजालो
आफ्नोलाई
अडकाउन
आफ्नोलाई झुकाउन,
नपुगेको शिखरको उदाहरण दिई
महान बन्न खोज्छ ,
संघर्षले टेकेको शिखरलाई
धज्जी उडाउँछ,
हरपल हरदम जब उसका स्वार्थका
आँखीझ्यालहरू बन्द हुन्छन,
अनि त्यो घमन्डी आकृति चिच्याउँछ,
अपमानका घडाहरु ल्याएर कर्मशील
योद्धामाथी खन्याएर भाग्छ,
धेरै टाढा जहाँ मनको साइनो बाँकी रहन्न !!
र आज उ आफैँ
बधाई दिन सकस मानी रहेछ ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ पुष २०८२, मंगलवार 




