उहिले–उहिले देखेका कुरा
दशैंजस्तै तीन–तीन दिन मनाइने जन्मोत्सवका कुरा
‘मौसुफ’ हजुरको दीर्घायुका लागि प्रायोजित खेलकुद सप्ताहका कुरा
हात्ती, घोडा र लावालस्करसहित सिन्दुरजात्राका कुरा,
यो समयका तन्नेरीहरूको रुचिभन्दा फरक !
त्यो बेलाका
टाढाबाट सुनिने संगीतजस्ता नगरा र ढोलकका कुरा
पञ्चर्यालीहरूमा सक्रिय थरी–थरीका दोलकका कुरा
वर्षेनि हुने विकासे भ्रमणका कुरा
हिउँदमा ‘हरियो काँक्रो’को रहरका कुरा
‘हु.प्र.’ र ‘वि.प्र.’का कहरका कुरा
नमिता र सुमितामाथिको प्रहारका कुरा,
यो समयका तन्नेरीहरूको सोचभन्दा पृथक !
आकारभित्रका निराकारका कुरा
दृष्टिकोण छपाएर दृष्टि गुमाएका
त्यो समयका पत्रकारका कुरा
खेलकुदमा हुने तामझामका कुरा
अञ्चलाधीशले खेलाडीहरूलाई रातो–दिन हौस्याएका कुरा
‘गाउँ फर्के’ चयनले वयस्क मताधिकारलाई जिस्क्याएका कुरा
सिंहदरबार र त्यो बेलाको आगोका कुरा
दियालो बंगलामा निभेको ‘दियालो’का कुरा
नारायणहिटी र ‘शुक्रबारे त्रासदी’का कुरा
यो समयका तन्नेरीहरूले सुनेका दन्त्यकथाभन्दा अलग
मृत्युपश्चात् गद्दीमा ‘राज’ गराइएका
त्यो बेलाका राजाका कुरा ।
हिजोआजका ‘पर्या–कविता’मा झुम्दै गरेका
नव–कविहरूको पर्यावरणीय दायराभन्दा भिन्न
वार्षिक पितृतर्पणको मञ्चन हुने
त्यो बेलाको पर्यावरण–संरक्षणसँगको परिहासका कुरा
विस्मृतिमा पुगेको इतिहासका कुरा
सदाबहार बगैँचामा हुर्किँदै गरेका
यो समयका पालुवाहरूले नदेखेका
त्यो बेलाको बर्फिलो हिउँदका कुरा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




