सोची बस्छु
आँशु खस्नुको पनि कारण हुन्छ
खुशी हुनुको पनि कारण हुन्छ ।
तर कसले सम्झाइदेला ती आमालाई
परदेशमा छोरा बेपत्ता भएको कारण
आमा यति बुझ्छिन् – मैले पर्खिनुको कारण छोरा हो ।
कसले सम्झाइदेला ती चेलीलाई
उसको अस्मिता लुटिएको कारण
ऊ यति ठम्याउन सक्छिन्
सायद म रित्तिनुको कारण छोरी भएर जन्मिनु हो
कसले बुझाइदेला पिताका ती हातहरूलाई
उसका हातहरू पसिना पुछ्ने हातहरू मात्र होइनन्
आशीर्वाद दिन सन्तानको शिरमा सजिने हातहरू पनि हुन्
कसले सुनाइदेला ती अबोध बालकलाई
विभेदको कारण
जो साथीसँगै आँगनमा खेल्दा
दैलो कट्छ कि भनेर
बालापनको हातहरू छुटाई निरंकुशताको पञ्जाबाट धकेलिन्छ
उसको समानताको मस्तिष्कले बुझ्दैन जातीयताको कारण ।
हुन त बिना कारण पनि धेरै कुरा भैरहेकै छ
जस्तो
हावा जो बिना कारण बहिदिन्छ
र बाँचिदिन्छ प्राणीहरूको एउटा युग
नदी जो बिना कारण बगिदिन्छ
र बनिदिन्छ साथी किसानहरूको एउटा सपना ।
पृथ्वी जो बिना कारण घुमिरहन्छ
कहिले रात त कहिले दिन बनेर र थामिदिन्छ
भुत वर्तमान अनि भविष्यका भारहरू
धड्कन जो बिना कारण धड्किन्छ
जीवन बनेर ,सास बनेर
र सुनाइरहन्छ हृदयको आवाज उमेरको अन्तिम क्षणसम्म ।
प्रेम जो बिना कारण बसिदिन्छ
कहिले साथ त कहिले याद बनेर
यो बेला म सोचिरहेछु
बाच्नकै लागि यति धेरै कारणहरू छन्
मर्नका लागि किन एउटै कारण काफी हुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 





