मुक्तक १:
सुख अनि दुःख भोग्दै दिनहीन हुन्छौँ,
पक्का एकदिन आफन्तबाट घिन हुन्छौँ ।
अनुपम प्रेमिल सबै आफन्तहरू भुलेर,
अन्त्यमा हामी धरतीबाट विलीन हुन्छौँ ।।
—
मुक्तक २:
स्पर्श गर्न सर्न नजिक हुन मनाही छ,
आफ्नो सौन्दर्य बिगार्दै रुन मनाही छ ।
ओइलिन सक्छु म लज्जावती झार हुँ,
बिन्ती मलाई नछुनुस् छुन मनाही छ ।।
—-
मुक्तक ३:
मान्छे आफैँ गल्ती गर्छ होइन भन्दै ईश्वर भाक्छ,
केही बोल्यो कि बोली नखस्दै बद्नाम भो भन्दै जाग्छ ।
बोलेको भुल्दै गतिछाडाहरू छिनछिनमा रङ फेर्ने,
दोधारे मनुवा र मध्य दिनको छेपारो उस्तै लाग्छ ।।
—
मुक्तक ४:
दम्भले चुलिँदै बिझाउने भाष्य नबोल भो,
भित्र दुख्ने अन्तर्घाती कहिरन नखोल भो ।
ममाथि नै प्रहार गर्ने छुरा हातमा लिएर,
अमृतको प्यालामा, मन्द विष नघोल भो ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 









