शरीरभरि करकर दुख्छ,
नसकिने पीडा यो,
छातीमा ज्वालामुखी,
तापको उचाइ चढ्छ,
अति नै भो।
मन खाली, पेट रिक्त, भोकको
नाम निशान भएन,
जीवनको लय भङ्ग गरी,
पल्टायो ओछ्यानमा, खोस्यो चैन।
कलेजो बिगार्यो,
थप्यो बढी डर मनमा,
झन थप्यो तनाव र ताप,
थाक्यो तन यो थकानमा।
वान्ता झन् विनाशका सङ्केत बोकेरै आयो,
आत्मासम्म पुग्ने पीडा झन् तीव्र ढङ्गले छायो।
गर्मीले पोल्यो दिमाग,
ज्वरोले जलायो आत्मा, शरीरले हार माने,
कुनै धैर्यको उपाय छैन साथमा।
मात्र पलपलको सम्झना,
सासको तारतम्य छ,
आशाको एउटा धागो मात्र,
डेङ्ग्यू जित्ने मनोभाव छ।
जब अस्पतालको चिसो कोठामा पुर्याइयो,
हतासले घेर्यो,
सुईको तीखो टोकाइ,
औषधीको तितो स्वादले झनै थकायो।
नर्सको मुखमा थाकेको मुस्कान,
डाक्टरका शब्दहरू सान्त्वना —
तर मनमा प्रश्नकै लहर,
के फेरि देख्न पाउँछु पुरानो जीवनको रङ्गीन सपना?
प्यारी श्रीमतीको आँखामा निद्रा थिएन,
थकानको छाया थिएन,
नथाकी, नचुकी गरेकी स्याहारले मेरो
आत्मालाई बलियो बनायो।
छोराछोरी र साथीभाइका सान्त्वनाले
ममा आशा थप्यो,
तिनीहरूको न्यानो बोली,
भविष्यको उज्यालो देख्ने एकमात्र प्रेरणा बन्यो।
दिन बित्थ्यो,
तर जस्तोसुकै दिन पनि उस्तै लाग्थ्यो,
बाहिरको संसारको ख्याल हरायो,
भित्र मात्र सङ्घर्ष गरें।
धेरै रात आँखा खुल्लै रहन्थ्यो,
औषधीको गन्धमा सुत्ने प्रयास गर्थें,
आफ्नै शरीरको वजन थाम्न नसकिने,
सास फेरिने यो कठिन यात्रा भोग्दै।
तर हरेक बिहान श्रीमतीको मुस्कान,
छोराछोरीको मायालु हात,
यी सबैले बनाइराखे मेरो सञ्चोको पुल।
धैर्यले छेकेको हिम्मतले शिखर चुम्न प्रेरित गर्यो,
र अन्ततः, मैले थाहा पाएँ,
म जित्नेछु यो डेङ्गीको युद्ध।
सोह्र दिन बिते बिस्तरामा छटपटाएर,
औषधीका बोतलमा निर्भर,
तर मन हार मानेन,
यो लडाइँसँग निरन्तर भिड्दै।
अस्पतालको झ्यालबाट देखेँ
जीवनको नयाँ सुरुवात,
आफ्नै बगैँचामा हिँड्न सक्ने सपनाहरू,
परिवारसँग खुसी बाँड्ने दिनहरू।
यो पीडाले सिकायो,
जीवनको मूल्य कति हो,
साहस मात्र होइन,
परिवारको साथले पनि सञ्चो हुन्छ।
कुनै दिन फेरि यो सासले गहिरो लिनेछ मिठासमा,
तर यो पटक,
म जितेँ यो रोगसँग,
परिवारको साथमा।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ मंसिर २०८२, बुधबार 




