गजल १
समाजमा यहीँ सवाल हुन्छ,
गरेर स्टन्ट कमाल हुन्छ।
बहालमा होस्, कुरा के हुन्थ्यो,
पछाडि होस् त, मसाल हुन्छ।
गुलाब फुल्दा भएन हेक्का,
पलास जाबो बबाल हुन्छ।
जसरी होस् न काटिएको,
लिनेदिने होस्, हलाल हुन्छ।
सके सबैले गरे हुनेथ्यो,
प्रदीप होस्, देखभाल हुन्छ।
गजल २
दौडेर आयौ के आसले हो,
गर्ने भनेकै बिन्दासले हो।
तनमन मिलोस् त संसार जित्छौँ,
तनमन मिलाउने विश्वासले हो।
कमजोरी मेरो नभएको हैन,
कमजोर पार्ने बदमाशले हो।
आफन्त भन्ने थाहा थिएन,
अब चाहिँ गर्ने कुन सासले हो।
विश्वासमा होस्, के हुन्न बाँकी?
बाँकी थियो भन्ने दासले हो।
गजल ३
क्या मेल नेता कार्यकर्ताको,
झल्को दिए काँटा र चम्चाको।
कुन ठाउँ पुग्ने लक्ष्य हो हाकिम,
तानी रहेछौ फेर दौराको।
खुब रहेछ सजिलो ढाँट्नलाई झन्,
छन् भन्दिए भो कान भित्ताको।
धर्ती न हो यो शून्यमा अडिने,
पर्छौ फेला एउटा न एउटाको।
जोगाई राख्नुस् ओठको छाप,
पर्ला महङ्गो छाप औँठाको।
अनुहार झैँ मन देखिन्थ्यो हो त,
को सामु पर्दो हो र ऐनाको।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ पुष २०८२, मंगलवार 




