अहो हेर त्यो मान्छे
त्यहाँ सुतिरहेछ।
ऊ सुतेको बिस्तारामा हलुका कपासहरू छैनन्
बरु ऊ काठको भारी तन्नामाथि सुतिरहेको छ
कपास त उसका नाकका प्वालहरुमा राखिएको छ
त्यसैले त ऊ शान्त छ
उसलाई अब मृत्युको डर छैन
न माया छ जीवनको
न भय छ रोगको
न चिन्ता छ भविष्यको
के ऊ साँच्चै नै स्वतन्त्र छ त ?
अब तिमी उसका हातहररूमा
हत्कडी लगाउन सक्छौ
उसकै अगाडि उभिएर
उसको आलोचना गर्न सक्छौ
स्वतन्त्रताको नारा लेख्ने
उसका हातका औलाहरू काटिदिन सक्छौ
विद्रोहका आवाज ओकल्ने
उसको मुखलाई सिलाइदिन सक्छौ
कहिल्यै नष्ट नभएका
उसका इन्द्रियहरूलाई जलाइदिन सक्छौ
कुनै समय भूमिगत भएको
उसको शरीरलाई फाँसीमा चढाइदिन सक्छौ।
तिमी उसलाई जे पनि गर्न सक्छौ
उसको शरीरलाई टुक्रा टुक्रा पारेर
नयाँ जीवन बनाइदिन सक्छौ
उसको रातो मुटुलाई झिकेर
कालो रङले रङ्ग्याइदिन सक्छौ
उसको कपाल उखेलेर
दाह्रीदेखि सशङ्कित हुने देशहरूमा पठाइदिन सक्छौ।
ऊ एकदमै शान्त छ।
मूर्ति जस्तो
बुद्ध जस्तो
मृत जस्तो
उसले अब तिम्रो
नबिगार्ने छ केही
नगर्ने छ रिस
नलिनेछ भाग
नबिथोल्ने छ सपना
वास्तवमा ऊ आफै गहिरो निन्द्रामा छ।
एक जोडी आँखाहरुमा
एक जोडी खुट्टाहरुमा
एक जोडी हातहरुमा
एक जोडी कानहरुमा
एक जोर स्वतन्त्रता भए
सायद हामी मानव एक्लो हुने थिएनौ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




