म धर्ती हुँ,
मलाई काटेर पहिरो लगाउँछौ
ढुङ्गा गुडाउँछौ
मेरो छाती माथि
तिम्रो बाटो बन्छ
अनि बिकास भन्छौ
मेरा छातिका जरा उखालेर
मेरो छाती चिर्दा
निचोर्दा
कतै दुख्छ कि भन्ने पनि नसोच्ने
संवेदनहीन मानव
अनि
तिम्रा औंला मा सियो ले खोप्दा चै
ऐया, हुने
न्याय कहाँ नेर भयो?
ए तिमिलाइ दुख्ने
अनि मलाई दुख्दैन??
म खोला हुँ,
तिम्रो खेतको आली खोलाको छेउ पुग्दा
खेतले खोलो मिचेको भन्दैनौ
जब म उर्लिन्छु
खोलाले खेत सक्यो भन्छौ
म त्यसै उर्लिन्न
तिमिले जब धर्ती चिर्छौ
खोतल्छौ
एउटा लास बनाएर फ्याँक्छौ
तिम्रो स्वार्थको लागि
क्षणिक तिम्रो आनन्दको लागि
तिम्रा कुकृत्यहरु सहदैन आकाश
गडगडाहट गर्छ
मलाई उर्लन बाध्य बनाउछ
अनि
म तिम्रो मिचाइ पेल्दै अघि बढ्छु
म लगाम लगाएको घोडाजस्तो हुँ
म आफ्नो बाटोमा आफ्नो गतिमा
निरन्तर हिड्नु मेरो आफ्नो धर्म हो
तिम्रो गल्ती अनि
तिम्रो स्वार्थ को लागि तिमिले गरेका गल्तिले
म तिमीलाई मिच्न बाध्य हुन्छु
तिमी गल्ती गर्छौ
अनि अरुलाइ बाध्य बनाउछौ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




