चन्द्रका किरणहरू,
निकृष्ट।
छ्याप्छ्याप्ती छरिएका छन्,
सेप्टिक ट्याङ्कीको भित्ताहरूमा।
जहाँ केही जमाना देखि,
निरन्तर स्खलित भईरहेछ,
तिम्रो मस्तिष्क।
चिसो छिँडीमा,
लमतन्न छन्,
सडकका कुकुरहरू।
जहाँ केही सालदेखि,
बारबार वान्ता गरिरहेछन्,
तिम्रा क्षुद्र जिब्राहरु।
पुरानो गल्ली,
जहाँ पछ्याउँदैन कसैलाई घाम।
तिमी हिँडिरहेछौ,
बोकेर वर्षौंदेखि,
डुङ्डुङ्ती गन्हाउने,
तिम्रो भगवानको लास।
एउटा शिरविहीन पाइला,
जो पाउजु लगाएर,
पैताला उल्टो फर्काएर,
हिँडेको छ युगौँदेखि।
उसको काँधमा को हो?
सतिदेवी?
चन्द्रशमशेर सोधिरहेछन्,
ए बटुवा,
यो मध्यरातमा,
सुल्प सल्काएर,
तिमी कसको सती हिँड्यौ ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 








