आफैँ बाँचेका सम्झनाका किस्साहरू थाहा छैन,
निस्फिक्री हिँडेका आफ्नै पैतालाका डोबहरू थाहा छैन।
भूत थाहा थिएन, वर्तमान थाहा छैन,
निधार र हातका धर्साहरूले बताउने भविष्य थाहा छैन।
पूरा नभएका सपनाका अस्थिपञ्जरहरू थाहा छैन,
पूरा गर्नुपर्ने सपनाका थुप्राहरू पनि त थाहा छैन।
बेलगाम हिँडेका गोडाहरूको गन्तव्य थाहा छैन,
गन्तव्यविहीन यात्री हो कि आदेशपालक? त्यो थाहा छैन।
के लेख्नुपर्थ्यो, के लेखेँ, थाहा छैन,
कि लेख्नै हुँदैनथ्यो, त्यो पनि थाहा छैन।
मलाई अहङ्कार मात्रै थाहा छ,
त्यो सिवाय मलाई ‘थाहा छैन’ भन्ने कुरा पनि थाहा छैन।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 




