सम्झनामा
सम्झी रहने मात्र सम्झनाहरू छैनन्
समयको बाक्लो लेपले छोपिएका
र मैले अक्सर बिर्सेका
कैयौँ सम्झनाहरू पनि छन्
त्यही सम्झनाहरूकै अगल-बगलमा।

समयको बलियो धक्का लागेर
कति सम्झनाहरू
सम्झनाभित्रै बेखबर भएका छन्
रहलपहल सम्झनाहरू
हिउँदको घाम ताप्दै गर्दा
अकाल-झुकुल बाडुलीमा पोखिन्छन्।

कहिले फेरि,
नसम्झेका सम्झनाहरू
निष्पट अन्धकारमा बुकुर्सि खेल्दै आउँछन्
सपनामा र मलाई झकझकाएर ब्युँझाई भाग्छन्
अनि, फेरि कहिले —
खुसुक्क कोठामा छिरेको जूनको
एक चोक्टो उज्यालो जस्तै
बिना अनुमति आउँछन्
कुत्कुत्याउने बदमास सम्झनाहरू।

एक पाखा बयेलीले
सुटुक्क सोहोरेर ल्याउने
शीतल सम्झनाहरू छन्
अर्को पाखा मौसम-बेमौसम
साउन डाकेर आँखा हिल्लै पार्ने पनि
सम्झनाहरू छन्।

यी अनेकौँ सम्झनाहरूको तरेलीमा,
ओई काली!
तिमी मेरो धर्तीमा कहिल्यै नझर्ने
माथि सगरको त्यो जून भए पनि,
नसम्झिँदा पनि हुने तिमीलाई
आज किन हो
बेस्सरी सम्झिरहेको छु।