आज घाम लागेन
बादल लागेको छ
तर पानी पनि परेन
बादलमा धुँवा मिसिएको छ
बादललाइ अल्छी लागेको छ ।

पानीविना माछा बाँच्दैन
माछा नभए पनि पानी बगिरहन्छ
तर आज पानी विरहमा जमेर बसेको छ
माछा बल्छीमा परेको छ
पानीलाई अल्छी लागेको छ ।

हावासँग सल्लाह गरेर
उमङ्गको चङ्गा उडाउने योजना थियो
तर हावामा पटक्कै उत्साहको गति छैन
हावामा भ्रम र हल्लाहरू मिसिएका छन्
हावा गह्रौ भएको छ
हावालाई अल्छी लागेको छ ।

पञ्चतत्वले बन्छ्न्
पञ्चतत्व मै मिल्छ्न्
प्राणी वनस्पतीहरूले
यो धर्तीमा कहाँ भार थप्छन्
तर मान्छेका अतिरिक्त चाह र
कृत्रिम सिर्जनाले
पृथ्वीको भारबढेको छ
असहज भएर ऊष्मता चढेको छ वातावरणमा
वल्टेकोल्टे गर्दैछ धर्ती
याम र आयाम अनुसार
सिर्जना गर्नलाई पनि
धर्तीलाई अल्छी लागेको छ ।

कुनैदिन यानहरूले छेकिएर सूर्य
ग्रहण लाग्ने छ घरीघरी यो पृथ्वीमा
चन्द्रमालाई ठेस लाग्ने छ
आफ्नै पुर्णिमाको बाटोमा
ग्रह र मानव उपग्रहहरूविच युद्ध हुनेछ आकाशमा
तनावग्रस्त छ अन्तरिक्ष पनि
सहि देखाउँदैनन भविष्य
ज्योतिषीका जोखनामा
ग्रह नक्षत्रलाई पनि अल्छी लागेको छ ।

यस्तो बेला कविताहरूले मार्नु हुन्न जाँगरहरू
थाक्नु हुन्न र बडार्नुपर्छ कसिङ्गरहरू
गाउनुपर्छ गीत सुर तालमा र
ल्याउनु पर्छ जगतलाई लयमा
तर किन अलमलमा छ्न कविहरू
सायद उनीहरूलाई पनि अल्छी लागेको छ।