लघुकविता

कुनैबेला बाजेबराजुले
खोरिया फाडेर बिराएको खेतबारीमा
पसिना सिँचेर बाली लगायिइन्थ्यो
त्यहि खेतबारीको भरमा जीवन धानिन्थ्यो
चाडपर्व पनि त्यसैले मानिन्थ्यो
रहर पनि त्यसैले पुर्याइन्थ्यो
र एक अर्काको गर्जो साटफेर गरेर
गाउँमा हाँसेरै प्रेमले बाँचिन्थ्यो

तर आज त्यो विगत
एकादेशको कथा जस्तै भएको छ
कसलाई थाहा होला
खेतबारीले हलो कोदालो पर्खिएको कथा
खेर गएको वर्षातहरु
काखमा राखेर पौरख पर्खिएको व्यथा

कठै … बाँझै भए पनि खेत भएको भए
खेत छ भन्नु त हुन्थ्यो
तर आज खेत नै हराएको छ
र खेतको ठाउँमा
त्यहि खोरीया घारी मौलाएको छ