सडक उस्तै
‎भोक उस्तै
‎आँसु उस्तै,
‎आमाको मुखमा अझै त्यही प्रश्नःछ
‎बाबु !
‎एकता भनेको के हो ?

‎म मौन छु,
‎नि:शब्द छु
‎यो प्रश्नको जवाफ
‎घोषणापत्रका पाना भित्र अटेन छ आमा।

‎कति पटक जुट्छौ
‎कति पटक फुट्छौ
‎वर्षायाममा ढुङ्गा बगाउने
‎खडेरीमा खहरे बगर बन्ने
‎नदिको गन्तव्य
‎किनाराका रोरा बालुवालाई
‎पनि पत्यार छैन।

‎म हेर्छु
‎उनिहरूको मिलन
‎हात मिलाउँदा लेन्सले कैद गरेको
‎देखावटी रङ्गमञ्च ।
‎झल्किन्छ।
‎त्यो लेन्सको उज्यालो
‎जनताका घर सम्म पुग्दैन।

‎तिमीहरू भन्छौ
‎हामी एकतामा छौं
‎तर म सोध्छु कसरी ?
‎जब जनता तिम्रो नारामा ,
‎चुनाव चिन्ह तारामा
‎भन्दा तिम्रो रजगत
‎अनि आफ्नो भोक
तराजुले समान बनाउदैन ।
जनताको पल्ला कहिले माथि उठ्छ।

‎एकता भनेको
‎कुर्सी मिलाउनु होइन
‎एकता भनेको
‎भोक र आवाज बीचको पुल हो ।
‎तर त्यो पुल त भत्किएको छ
‎तिमीहरू त्यसैको उद्घाटनमा
‎माला पहिरिइरहेका छौ ।

‎कति जुट्छौ तिमीहरू
‎कति फुट्छौ
‎जसरी चराहरू उड्छन
‎एकै दिशातिर केही समय,
‎फेरि छुट्टिन्छन आ–आफ्नो बाटो ।
‎तर चराको उडानमा स्वार्थ हुँदैन
‎तिम्रो बथानमा स्वार्थ छ ।
‎कुर्सी,सत्ता र शक्ति क्रमशः

‎के यो साँचो एकता हो ?
‎जहाँ विचार त एउटै भनिन्छ
‎हृदयहरू टुक्राटुक्रा भएका छन ।
‎जहाँ पार्टीहरू गला मिलाउँछन
‎तर जनताको आवाज
‎घाँटीमै अड्किन्छ ।

‎म सम्झन्छु त्यो आमै,
‎जसले आधा रोटी बाँड्दै भनिन
‎बाबु न्यायको स्वाद त मिठो होला
‎तर पेट खाली छ ।
‎त्यो वाक्य मेरो घोषणापत्र भन्दा गहिरो थियो ।

‎त्यो दिन मैले बुझें
‎एकता विचार होइन,अनुभूति हो ।
‎यो कागजमा होइन, हृदयमा लेखिन्छ ।

‎ हिजो जस्तै आजका पनि
‎नेताहरू एकै टेबुलमा छन।
‎तर फरक–फरक चस्मामा
‎कोही कुर्सी देख्छ,
‎कोही अवसर देख्छ
‎कोही जनताको छायाँ देख्छ ।
‎तिम्रो एकताले के देख्छ ?

‎कति जुट्छौ तिमीहरू
‎कति फुट्छौ
‎कति पटक पुनर्जन्म लिन्छ
‎त्यो “कम्युनिस्टको नामले ”
‎नयाँ लोगो, नयाँ मञ्च, नयाँ आशामा ।
‎तर अन्त्यमा,
‎जनता उही
‎सडकमा, रोटीको आधा टुक्रा समातेर ।

‎म सोच्दै हिड्छु
‎शायद एकता कुनै पार्टी होइन,
‎मानवताको प्रश्न हो ।
‎जहाँ मनहरू मिल्छन
‎त्यहीँ क्रान्ति जन्मिन्छ
‎जहाँ केवल भाषण मिल्छ
‎त्यहीँ क्रान्ति मर्छ ।

‎त्यसैले आज म भन्छु
‎जति जुट्छौ फुट्छौ तिमीहरू
‎इतिहासले गन्नेछ नारा होइन
‎अनुभूति गर्नेछ ।
‎किनभने साँचो एकता
‎घोषणापत्रमा होइन
‎एकअर्काको आँखामा भेटिन्छ ।