मध्य मनसुनको प्रभावले
भारतको बिहारबाट भित्रिएको
अन्धाधुन्ध झरी झरिरहेकै छ ।

फेसबुकतिर
एकोहोरो बजिरहेका छन्-
सवारी दुर्घटनाका मृतक र घाइतेहरूको आँकडा भन्ने खबरहरू
बाढीपहिरोमा फसेकाहरूको दारुण समाचार
यहीँ देखिन्छन् –
सम्भावित जोखिमबाट बच्न
सरकारले
दिइएका वक्तव्य र अपिलहरू ।

सञ्जालमै छन्-
उद्धारका लागि गरिएको याचना
पहिरामा परेर भकाभक ढलेका ठुलठुला घरहरूको अन्तिम दृश्य।

ओहो ! उस्तै छ,
आकाशमा बेलेबेलै कड्किरहेकाे बादल ।
उस्तै छ,
दुर्वासा भएको बिजुली पनि ।

यता
चिसो बतासमा शाश्वत पानीका तरुण स्पर्शबीच
कि कर्तव्यविमूढ: छ एउटा मानव ।

यताउती गरिरहेको छ ऊ
मानाैँ के गर्ने भन्ने निचोड खोजिरहेको छ तर निष्कर्ष आइसकेको छैन ।
नाबालक केटाकेटी ब्ल्याङ्केट ओढेर सुतिसके
निश्चिन्त बाबुको छहारीमा ।

घरि स्क्रिनमा हराउन खोज्छ
घरि ओछ्यानमा ढल्केर निदाउन खोज्छ ।
सोच्छ- “मनभरि औँडाहा भरेर पनि निदाउन नसकिने रहेछ” ।

अलिकति पर्दा उठाएर हेर्छ-
बाहिर
बिजुली बत्तीको आडमा
स्वर्णिम बनेका पानीका थोप्लाहरू
अनवरत झरिरहेछन् ।

ऊ यही सोचाइमा विश्वस्त भएर निदाउँछ-

भोलि पक्कै
वर्षा रोकिने छ
पहिराको सन्त्रास विस्तारै घट्दै गएपछि
यी उर्लँदा खोलानदीहरू फेरि
फर्किने छन् पुरानै लयमा
जसरी फर्किनुपर्छ शमशानबाट मलामीहरू ।

भोलि
फेरि लाग्ने छ पारिलो घाम खुसीको
हटाउने छ दुःखकाे कालो बादल
र इतिहास बनेर थामिने छ
भेलवर्षा र बाढीपहिरो ।