यो माथि माथि
उड्दै गरेको
रातो फरिया कसको हो?

कसैले भने
यो सुदूरबाट उडेर
आएको निर्मलाको फरिया हुनुपर्छ।
कसैले भने
यो मैना सुनुवार अथवा
निशा तामाङको फरिया हुनुपर्छ।

यो छाउगोठमा सुतिरहेकी
कमला दमाईको फरिया पनि हुन सक्छ।
यो फरिया कलिला नानीहरूको
डिम्ब बेच्ने अपराधीले उडाएको हुन सक्छ।

अस्ति भर्खर बिहे भएकी
रौतहटकी फगुनीको पनि हुन सक्छ।
किन उडिरहेछन्
यी फरियाहरू
नेपाली आकाशमा
प्रत्येक दिन प्रत्येक क्षण।

कुनै दाइजोको नाममा
कुनै बोक्सीको नाममा
धुजा धुजा छन्,
कुनै रक्ताम्य छन्,
कुनै गुजमुजिएका छन्,
कुनै लत्रिएका छन्,
कुनै आँसुले भिजेका छन्।

यी नै फरियाहरूले
साँझमा सगर डढ्दो रहेछ।
इन्द्रेणी रङ्गले फरियाको
अस्तित्व बोक्दो रहेछ।

यी फरियाहरू
गर्भ छोप्दाछोप्दै उतारिएका हुन सक्छन्
बिछ्यौनामा सुस्ताइरहेकी सुत्केरीका हुन सक्छन्
नाबालिकाहरूका हुन सक्छन्,
तपाईं-हाम्रो घरका हुन सक्छन्।

न्याय नपाएर अदालतको आँगनमा
अर्धनग्न भेटिन्छन् यी फरियाहरू।
अँध्यारा रातहरूमा
आफ्नो अस्तित्व गुमाएर
अधिकारका लागि
आकाशमा उडिरहेका
फरियाहरू तपाईंकी आमाका,
श्रीमतीका, भाउजूका,
बहिनीका वा छोरीका कसका हुन्?

मेलामा, जङ्गलमा, बस्तीमा
आफूले अनुहार छोपेर
अरूको लाज ढाक्दै
इज्जत जोगाउने
यी फरियाहरू
कसका हुन्?